२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


होमस्टेले पर्यटक खुशी, स्थानीयबासिन्दाको जीवनस्तरमा पनि सुधार (भिडियो)


0
Shares

विवेक भण्डारी 

नवलपुर, जेठ १७ । परम्परागत पेशामा मात्र सीमित नवलपुरका विपन्न समुदायले पछिल्लो समय आयआर्जनका अन्य विकल्प खोज्न थालेका छन् । विशेष गरी विपन्न थारु, बोटे, माझी समुदायले होमस्टे व्यवसाय सञ्चालन गरेपछि उनीहरुको जीवनस्तरमा समेत सुधार आएको छ ।

खेती, मजदुरी र माछा मारेर जीविकोपार्जन गरिरहेका नवलपुरका थारु माझी र बोटे समुदायका केहीले होमस्टे सञ्चालन गरेर पाहुनाको स्वागतसत्कारमा व्यस्त हुन थालेका छन् । देवचुली नगरपालिकामा सुविधासम्पन्न होमस्टे संचालन गरेर पर्यटकलाई सेवा दिइरहेका उनीहरुको जीवनयापन सहज बन्न थालेको छ ।

जिल्लामा प्रिपर सुमदायिक होमस्टे, अमलटारी होमस्टे, बरौली होमस्टे संचालन गरेर उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेका छन् । पुरुषहरु मजदुरी गर्न जाने र महिलाहरु घरधन्दामै सीमित भएका उनीहरु ठूलो अभावका बीच जीवन बिताउन बाध्य थिए । तर अहिले भने पाहुनाको स्वागत गर्नमा भ्याई नभ्याई रहेको पिप्रहर सामुदायिक होमस्टेकी सञ्चालिका देवकी महतो बताउँछिन् ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेकाले मध्यवर्ती सामुदायिक वनभित्र विभिन्न दुर्लभ वन्यजन्तुको अवलोकनसँगै नारायणी नदीमा बोटिङसँगै जंगल सफारी गर्न आउने पर्यटहरुको रोजाइमा होमस्टे नै परेको छ । होमस्टेले पनि मध्यवर्ती वनलाई व्यवस्थित गरी पर्यटकलाई त्यहीँ वनमा घुमाउने गरेको प्रिपहर सामुदायिक होमस्टेका अध्यक्ष झनक बहादुर महताको भनाइ छ ।

जिल्लामा सञ्चालित होमस्टेले यस आर्थिक बर्षमा मात्र १५ देखि २० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सफल भएका छन् । यसबाट विपन्न वर्गको मौलिक संस्कृति संरक्षणसँगै आर्थिक आयआर्जनमा पनि सघाउ पुगेको छ ।

भिडियो हेर्नुहोस्