
काठमाडौं, जेठ १७ । सोल्टी होटलका अध्यक्ष तथा प्रसिद्ध व्यवसायी प्रभाकरशमशेर राणाको निधन भएको छ ।
१० महिनादेखि बिरामी भएका राणाको उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा हिजो निधन भएको हो ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणाको ढाडमा समस्या आएपछि शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रिया सफल नभएपछि पुनः अर्को शल्यक्रिया गर्दा झन् समस्या आएको थियो ।
८४ वर्षीय राणा पर्यटन क्षेत्रका पुराना र सफल व्यवसायी मानिन्छन् । उनको मुख्य पहिचान पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिलेर सोल्टी होटलको संस्थापक हुनु हो ।
यसबाहेक उनले सिप्रदि ट्रेडिङ, भोटेकोशी जलविद्युत् आयोजना, सूर्य नेपाल प्रालि, आइटिसी कम्पनी सञ्चालनमा ल्याएका थिए ।
राणाले राजा ज्ञानेन्द्र शाहको शासनकालमा राजनीतिक तथा आर्थिक सल्लाहकारको भूमिकामा समेत काम गरेका थिए ।
उनका एक छोरा र एक छोरी छन् । राणाको निधनले पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्