
प्रकाश लम्साल
बारा, जेठ १७ । बाराको सिमरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि स्थानान्तरण गर्नुपर्ने टाँगिया बस्ती बिचल्लीमा परेको छ । दुई दशकदेखि स्थानान्तरणको चर्चा भएकै कारण विकासका पूर्वाधार निर्माण हुन नसकेको टाँगिया बस्तीका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको हो ।
बाराको जितपुर–सिमरामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा दुई दशक अघिदेखि भएको हो । विमानस्थलका लागि चाहिने जग्गामा पर्ने टाँगिया बस्तीलाई स्थानान्तरण गर्नुपर्ने निश्चित भएपछि त्यसयता विकासका पूर्वाधार ठप्प छन् । जसका कारण अत्यावश्यक दैनिक सेवासुविधाबाट समेत स्थानीय वञ्चित हुँदै आएका छन् ।
विमानस्थलको धावनमार्ग बनाउने ठाउँमा रहेको उक्त बस्तीलाई न त पुनर्स्थापना गर्ने टुंगो लागेको छ न मुआब्जाको विषय नै सल्टिन सकेको छ । आफूहरु राज्यले तोकेको ठाउँमा स्थानन्तरण हुन तयार रहे पनि सरकारको ढिलासुस्तीबाट आफूहरु बिचल्लीमा परेको टाँगिया बस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाको गुनासो छ ।
एक हजार ४७६ घर धुरी रहेको बस्तीमा ७ सय ३१ बिगाह १४ कठ्ठा ऐलानी जमीन प्रयोग भएको छ । विमानस्थल निर्माणका लागि ११ हजार ८७ विगाह जति जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । जसमध्ये ११० विगाह निजी जमिन मुआब्जापछि सरकारको नाममा आएको छ भने बाँकी ऐलानी र वन क्षेत्रले ओगटेको छ ।
विद्यालय, स्वास्थ्य, पानी, बिजुली, सञ्चार, सडक, सिँचाइलगायतका पूर्वाधारबाट वञ्चित उनीहरुले १८ किलोमिटरको दुरीमा रहेको निजगढमा बालबच्चालाई पढ्न पठाउनुपर्छ । त्यसैगरी न्यूनतम स्वास्थ्य सुविधा उपलब्ध नहुँदा अनाहकमै कैयौँको ज्यान गएको छ ।
स्थानीय तहले बस्ती स्थानान्तरणको विकल्प दिँदासमेत आयोजनाले बेवास्ता गरेपछि स्थानीयमात्र होइन, जनप्रतिनिधिसमेत आक्रोशित बनेका छन् । आगामी आर्थिक वर्षसम्म समस्या समाधान नभए स्थानीय सरकारले ऐन अनुसार स्थानीयलाई जग्गाको स्वामित्व प्रदान गरी भौतिक कार्य सुरु गर्ने जितपुर सीमरा उपमहानगरपालिका १६ का वडाध्यक्ष केदारनाथ बजगाइँको भनाइ छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस आयोजनालाई निर्वाध रुपमा सम्पन्न गर्नु त छँदैछ, साथसाथै त्यसबाट प्रभावितहरुको समस्या समाधानका लागि ठोस पहलकदमी पनि उत्तिकै जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्