
रौतहट, जेठ १७ । रौतहट प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रुसँग ‘एक मिनेट’ कार्यक्रम सुरु गरेको छ ।
बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनका चालक र यात्रुसँग प्रहरीले ‘एक मिनेट’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमअन्तर्गत सवारी साधनलाई रोकेर प्रहरीले चालक र यात्रुलाई एकसाथ एक मिनेटभित्रको प्रस्तुतिमा सवारी साधन चलाउँदा सावधानी अपनाउन अनुरोध गर्ने गरेको छ ।
प्रहरी अधिकृतले एक मिनेट गाडी रोकेर चालकलाई राम्रोसँग गाडी चलाउन, मदिरा सेवन नगर्न, आफ्नो स्वास्थ्य जाँच गर्न र चलाउनु पूर्व आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर चलाउन सुझाव दिने गरेको छ ।
प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले सवारी दुर्घटनाबाट नेपालमा बर्सेनि १७ हजार मानिसको ज्यान जाने गरेको जानकारी दिए ।
रौतहटमा मात्रै सवारी दुर्घटनामा बर्सेनि ४५ देखि ५० जनाको ज्यान जाने गरेको उनको भनाइ छ । चालकको लापरबाहीबाट दुर्घटना नहोस् भन्नको लागि यो अभियान थालिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्