
काठमाडौं, जेठ १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले लोकप्रिय बजेट ल्याएको स्वीकार गरेका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले वर्तमान सरकारले पाँचौं वर्षमामात्रै ‘पपुलिस्ट’ कार्यक्रम ल्याएर नहुने भन्दै यसै वर्षदेखि सुरु गरिएको बताए ।
पाँच वर्षका लागि आएको सरकारले ‘दोस्रो वर्षमै किन पपुलिस्ट बजेट ल्याउन हतार गरेको ?’ भन्ने प्रश्नमा उनले धेरै पर्खाइराखेर धैर्यको बाँध टुटाउन नहुने बताए ।
मन्त्री खतिवडाले सांसदलाई ६ करोड रुपैयाँ दिने योजनाको बचाउ पनि गरे ।
जनप्रतिनिधिलाई विकासबाट विमुख गर्न नहुने भन्दै योजना छनोट र अनुगमन गर्ने काम जनप्रतिनिधिको रहने, सांसदले नै पैसा नपाउने उनको भनाइ थियो ।
सरकारले स्थानीय विकास पूर्वाधार कार्यक्रमअन्तर्गत् चालू आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ विनियोजन गरेकामा आगामी वर्ष यसलाई बढाएर ६ करोड पुर्याएको छ ।
मन्त्री खतिवडाले सडक सुधारका लागि डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ सडक सुधार कर लगाएको प्रश्नमा एक रुपैयाँ तिरेपछि ‘खाल्डोबाट जोगाउने’ बताए ।
मन्त्री खतिवडाले नागरिकको तत्कालको आवश्यकता पूरा गर्ने र दीर्घकालीन आर्थिक विकास गर्ने योजनासहित बजेट ल्याएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्