१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


दरबार हाइस्कुलः साख जोगाउन चुनौती


13
Shares

प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, जेठ १६ । काठमाडौंको दरबार हाइस्कुल नेपालको शैक्षिक इतिहासको एउटा जीवन्त साक्षीकारुपमा लिन सकिन्छ ।

वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णक्षति पुर्‍याएपछि भने विद्यालयको पठन–पाठन प्रभावित भएको छ । शैक्षिक गुणस्तर पनि खस्किएको टीका–टिप्पणी सुनिन थालेको छ ।

पुनःनिर्माण जारी रहेको यो विद्यालयले नयाँ भवन पाएपछि आफ्नो गुणस्तर सुधारमा कस्तो कदम चाल्छ ? यो भने महत्वपूर्ण पक्ष बनेको छ ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले आफना भाइ–भतिजालाई मात्र पढाउन १९१० असोज २७ गते थापाथली दरबारमा दरबार हाइस्कुल स्थापना गरेका थिए ।

प्रारम्भिक चरणमा अंग्रेजी, गणित र इतिहासलगायतका विषय पढाइने यो स्कुल १९४८ सालमा रानीपोखरीमा आफ्नै भवनमा सरेको थियो ।

१९५७ सालमा देवशमशेरले सर्वसाधारण जनताका छोराछोरीलाई पनि यहाँ पढ्न खुला गरे ।

राणाकालीन इतिहास बकेको दरबार हाइस्कुल कुनै समय नेपालका उच्च तहका व्यक्ति पढ्ने, गुणस्तरीय शिक्षाका लागि राम्रो गनिने विद्यालयमा पर्थ्यो ।

तर, समयक्रमसँगै विद्यालयप्रतिको आकर्षण र यसको गुणस्तर क्रमशः खस्कँदै गयो । सरकार र सरोकारवालाको ध्यान विद्यालयको शैक्षिक अवस्था सुधारमा जान सकेन ।

जर्जर भौतिक संरचनामा रहेर पढाइ हुने गरेको यो विद्यालयमा विद्यार्थीको संख्या पनि कम हुँदै गयो भने विपन्न समुदायका व्यक्तिका छोराछोरीमात्र पढ्ने विद्यालय हो कि भन्ने स्थिति विकसित हुँदै गयो ।

वैशाख १२ गतेको भूकम्पले विद्यालय ध्वस्त बनाएपछि १० महिनाअघिमात्र चीन सरकारले स्कुलको नयाँ भवन बनाइदिएको छ । नयाँ भवन, राम्रो कक्षाकोठा पाएको छ, विद्यालयले वर्षौंपछि ।

नयाँ भौतिक संरचनासँगै अब विद्यालयको शैक्षिक अवस्था कसरी सुधार होला ? यो महत्वपूर्ण पाटो छ ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला योग्य शिक्षक र प्रविधिसँग अभ्यस्त शिक्षकमात्र राख्नसके पनि विद्यालयको शैक्षिक अवस्था सुधार गर्नसकिने बताउँछन् ।

हाल दरबार हाइस्कुलमा हाल १५० जनामात्र विद्यार्थी छन् । जसमध्ये धेरैजसो विपन्न समुदायका बालबालिका छन् ।

दरबार हाइस्कुल अन्तर्राष्ट्रियस्तरको भन्दै शिक्षाविद् कोइरालाले त्यो साख जोगाउन विद्यार्थी संख्या धेरै र कम शिक्षक राख्नुपर्ने सुझाव दिन्छन् ।

भिडियो हेर्नुहोस्