
-ध्रुव भट्टराई/ईमेज
विराटनगर । राजश्वमा कडा नीति लिएको भन्दै असन्तुष्ट बनेका उद्योगी र व्यवसायीलाई खुशी बनाउने गरि अर्थमन्त्री डा.युवराज खतिवडाले हिजो आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।
एक वर्षमै राजश्वमा नरम नीति लिँदै स्वदेशी उद्योगलाई संरक्षण गर्ने व्यवस्थाले पूर्वी क्षेत्रका उद्योगी बजेटप्रति सकारात्मक देखिएका छन् ।
सुनसरी–मोरङ करिडोरका उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत बजेटले औद्योगिक गतिविधिलाई टेवा पुग्ने विश्वास लिएका छन् ।
तर त्यसको सफल कार्यान्वयनमा भने उनीहरुको शंका छ ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले शिक्षा, स्वस्थ्य, उर्जा, कृषि, औद्योगिक गतिविधि लगायतका क्षेत्रलाई बजेटले महत्व दिएकाले बजेट पूर्ण कार्यान्वयन भएको खण्डमा मुलुक र निजी क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
उद्योग सङ्गठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले समग्रमा बजेट राम्रो र उत्साहजनक भएपनि कार्यान्वयका लागि ठोस नीतिको अभाव देखिएको बताउँछन् ।
भूमि ऐनको निर्माण गरि उद्योगलाई सरकारी जग्गा लिजमा दिने कार्यक्रमले औद्योगिक वातावरणलाई बल पुग्ने उनको भनाई छ ।
मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले मुलुकको विकासको लक्ष्यलाई बजेटमा समेटिन खोजिएकोले समग्रमा बजेट सकारात्मक र उत्साहजनक रहेको प्रतिक्रिया दिए ।
उनले सबै नेपालीलाई स्वास्थ्य विमामा जोड्न खोज्नु र भूमि बैङ्कको कार्यक्रम ल्याउनु बजेटको राम्रो पक्ष रहेको बताए ।
उद्योगी व्यवसायीले बजेटले सुनसरी–मोरङको महत्वपूर्ण आयोजनालाई नसमेटेको भन्दै यस क्षेत्रलाई उपेक्षा गरेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्