१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


राष्ट्रपतिद्वारा संविधानसभा पदक प्रदान गर्दै, भ्रष्टाचारको मुद्दा लागेकालाई पनि पदक


0
Shares

काठमाडौं । सरकारले संविधान निर्माणमा योगदान पुर्‍याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषित गर्दै छ ।

गणतन्त्र दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् ।

पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ । संविधानसभा पदक पाउनेहरुमा २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् ।

पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम छ ।

राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा राखिएको छ ।

हाल प्रतिबन्धित ’विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा छन् ।

पदक वितरण कार्यक्रम बिहीबार बिहान सुरु भएर अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

पदक पाउनेको सुचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने पनि रहेका छन् ।

राष्ट्रपति भण्डारीले पदक प्रदान गर्ने कार्यक्रमको समाचार संकलनमा भने निजी संचार माध्यमलाई रोक लगाइएको छ ।

राष्ट्रपति भवनमा प्रवेश गरिसकेका संचारकर्मीलाई पनि अनुमति नभएको भन्दै सुरक्षाकर्मीले बाहिर निकालेका लिए ।