
काठमाडौं । प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गठबन्धन सरकार बनाउन असफल भएपछि इजरायली सांसदहरुले संसद भंग गर्ने पक्षमा मतदान गरेका छन् ।
यो फैसलापछि अब इजरायलमा आगामी सेप्टेम्बरमा पुनः निर्वाचन हुने भएको छ ।
प्रधानमन्त्री नेतन्याहूले पछिल्लो महिना भएको निर्वाचनपछि नयाँ दक्षिणपन्थी गठबन्धन बनाउनका लागि गरेको प्रयास विफल भएको छ ।
कार्यवहाक प्रधानमन्त्रीले गठबन्धन बनाउन नसकेको इजरालयको इतिहासमा यो पहिलो घटना हो ।
गठबन्धन बन्न नसक्ने गतिरोधको केन्द्रमा अति–धर्मनिष्ठ यहूदी शिक्षण संस्थानका विद्यार्थीहरुलाई अनिवार्य सैनिक सेवामा मिल्ने छूटको समीक्षा गर्न माग गरिरहेका सांसदहरु थिए ।
गठबन्धन बनाउनका लागि गए रातीको समय सीमा पूरा भएपछि पेश गरिएको संसद भंग गर्ने प्रस्तावको पक्षमा ७४ मत पर्यो भने विपक्षमा ४५ सांसद उभिएका थिए ।
गत अप्रिलमा भएको निर्वाचनमा १२० स्थान मध्ये नेतन्याहूको लिकुड पार्टीले ३५ सिटमा जित हासिल गरेको थियो ।
नेतन्याहूले पाँचौ पटक प्रधानमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए तर उनले पूर्व रक्षामन्त्री एविग्दोर लिबरमनसँग सम्झौता गर्न सकेनन् ।
लिबरमनसँगको सम्झौताविना सरकार बनाउन सम्भव थिएन ।
संसदमा भएको मतदान पछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेतन्याहूले आफुले स्पष्ट चुनावी अभियान चलाएर विजय हाँसिल गर्ने दाबी गरेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्