
काठमाडौं, जेठ १५ । सरकारले अधिकांश करका दर यथावत् राख्दै व्यक्तिगत आयकरको सीमा बढाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा करका दरहरु यथावत् राख्ने र दायरा बढाउने प्रयास गरेका हुन् ।
व्यक्तिगत आयकरको सीमा साढे ३ लाखबाट बढाएर ४ लाख पुर्याइएको छ । दम्पतीको आयकर सीमा ४ लाखबाट बढाएर साढे ४ लाख बनाइएको छ ।
यसैगरी, सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर पनि घटाइएको छ ।
अर्थमन्त्री खतिवडाले गत पर्ष पुँजीगत लाभकर बढाएर साढे ७ प्रतिशत पुर्याएकोमा उक्त दर अहिले घटाएर ५ प्रतिशतमै झारिएको छ ।
यस्तै, घरजग्गा कारोबारमा लाग्ने लाभकर पनि १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ ।
सरकारले मूल्य अभिवृद्धि कर र सीमादर यथावत् राखेको छ । विद्युतीय कारोबार प्रवर्द्धन गर्न मूल्य अभिवृद्धि कर विद्युतीय कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत फिर्ता गर्ने व्यवस्था बजेटमा गरिएको छ ।
सदाझैं मदिरा, चुरोट, बिँडी, एवं सुर्तीजन्य वस्तुको भन्सार तथा अन्तःशुल्क यस वर्ष पनि वृद्धि गरिएको छ ।
सरकारले स्वदेशी कपडा उद्योगको प्रवर्द्धन गर्न विद्युत् महसुलमा ५० प्रतिशत छुट र ५ प्रतिशत ब्याज अनुदान दिने भएको छ ।
मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगलाई बैंकबाट लिने ब्याजमा ५ प्रतिशत विन्दुले अनुदान दिइने भएको छ ।
उद्योगले आयात गर्ने कच्चापदार्थमा भन्सारदर कम्तीमा एक तह कम गर्ने सरकारले घोषणा गरेको छ ।
कृषि सहकारीहरुले खरिद गर्ने सवारी–साधनमा ५० प्रतिशत भन्सार छुट दिने घोषणा पनि गरिएको छ ।
यसैगरी, सरकारले सडक मर्मतका लागि पेट्रोल र डिजेलमा प्रतिलिटर एक/एक रुपैयाँ कर बढाएको छ । योसँगै पूर्वाधार कर ६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्