
काठमाडौं, जेठ १५ । सरकारले तमोर जलाशयुक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाकारुपमा समावेश गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत् गर्दै सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको बताए ।
उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने र रसुवागढी, सान्जेनजस्ता आयोजना गरी कुल एक हजार मेगावाट क्षमताका आयोजना सम्पन्न हुने उल्लेख गरे ।
यस्तै, पश्चिम सेती, दूधकोसी, नलगाडलगायतका आयोजनाको उपयुक्त मोडल तयार गरी निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ ।
यस्तै, राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको बूढीगन्डकी जलविद्युत् आयोजनाका लागि आगामी आवमासमेत बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री डा. खतिवडाले ऊर्जा क्षेत्रका लागि रु ८३ अर्ब ४९ करोड बराबरको बजेट विनियोजन गरिएको उल्लेख गरे ।
कर्मचारीको सेयर रहनेगरी एक जलविद्युत् आयोजना अगाडि बढाउने लक्ष्य राखेको सरकारले जनताको लगानीमा कुल २१ आयोजना आयोजना अगाडि बढाइ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
ठूला आयोजनाको कार्यान्वयन गर्न सार्वजनिक–निजी साझेदारी अवधारणामा अगाडि बढाउने लक्ष्य राखेको सरकारले उत्पादित विद्युत्को आन्तरिक खपतका लागि विशेष प्रयास गरिने भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्