काठमाडौं, जेठ १५ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत् बुधबारका खेलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर–२ विजयी भएका छन् ।
समूह ‘बी’को खेलमा पुलिसले प्रदेश नम्बर–१ लाई ७५ रनले पराजित गर्यो ।
मूलपानीको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३ ओभर १ बलमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।
अमित श्रेष्ठले १०६ रन बनाएबाहेक अरु ब्याट्सम्यानले उल्लेखनीय खेल्न सकेनन् ।
प्रदेश–१ का कमल खत्री, फिर्दोश अन्सारी, पुष्प थापा, दीपेश कँडेल र सिद्धान्त लोहनीले समान २/२ विकेट झारे ।
जवाफमा प्रदेश–१ दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीको बलिङसामु टिक्न नसकेपछि ३८ ओभर ३ बल खेल्दै ११० रनमै समेटियो । ऐरीले ५ तथा राजवंशीले ३ विकेट लिए ।
प्रदेश–२ को पहिलो जित
बुधबारै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश–२ ले कर्णाली प्रदेशलाई ९ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले प्रकाश जैसीको ३७ रनको मद्दतले ३० ओभर ४ बलमा अलआउट हुँदै ९३ रन बनाएको थियो ।
प्रदेश–२ का कुमार थापाले ३ विकेट लिए । राशिद खान, समसद शेख र हरिशंकर शाहले समान २/२ विकेट झारे ।
जवाफमा प्रदेश–२ ले हरिशंकर शाहको अविजत ५५ रनको मद्दतले १६ ओभरमै एक विकेटको क्षतिमा विजय हासिल गर्यो ।
यो खेलपछि समूह ‘बी’मा ३ खेलबाट शतप्रतिशत नतिजासहित त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा कायमै छ भने दुई खेलबाट शतप्रतिशत खेलेको पुलिस दोस्रो स्थानमा छ ।
दुई खेलबाट एक जितसहित प्रदेश–२ तेस्रो स्थानमा छ । प्रदेश नम्बर–१ र कर्णाली प्रदेशले अंकको खाता खोलेका छैनन् ।
बिहीबार समूह ‘ए’को खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर–५ सित खेल्ने कार्यक्रम छ ।








प्रतिक्रिया दिनुहोस्