
विजय नेपाल (इमेज)
सिन्धुपाल्चोक, जेठ १५ । तातोपानी नाका औपचारिकरुपमा सन्चालनमा आएको छ ।
नेपाल र चीन जोड्ने उत्तरी नाका तातोपानी वि.सं. २०७२ को विनाशकारी ‘गोरखा’ भूकम्पपछि बन्द अवस्थामा रहेको थियो ।
बुधबार नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र चीन सरकारका वाणिज्य उपमन्त्री झाङ जिवाङले संयुक्तरुपमा नाका खुलेको घोषणा गरेका हुन् ।
चीन तर्फबाट ऊन बोकेका चारओटा कन्टेनर नेपाल प्रवेश गराउँदै नाकाको औपचारिक उद्घाटन गरिएको हो ।
सोक्रममा रातो कार्पेट बिच्छ्याएर आतिसबाजीसहित कन्टेनरलाई स्वागत गरिएको थियो । उद्घाटनस्थलमा दुवैतर्फका स्थानीयहरु झन्डा बोकेर उपस्थित भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको बताए ।
तातोपानी नाका खुलेसँगै नेपाल ‘ल्यान्डलक’बाट ‘ल्यान्डलिंक’ मुलुक भएको उनले उल्लेख गरे ।
नेपाल व्यापार घाटामा चलिरहेको मुलुक भएको भन्दै उनले नेपालमा उत्पादन बढाइ यसै नाकाबाट चीनतर्फ निर्यात हुने सामग्रीका लागि पनि सहयोग गर्न चीनसित आग्रह गरे ।
‘नेपाल समृद्धिको बाटोमा अगाडि बढिरहेको हुनाले अब यो नाका खुलेर नेपालबाट सामग्री निर्यात हुन थालेपछि थप समृद्धिको अपेक्षा गर्न सकिन्छ’–मन्त्री यादवले भने ।
चीनका वाणिज्य उपमन्त्री झाङ जिवाङले प्राकृतिक विपत्तिले पारेको असहज अवस्थामा छिमेकीको हैसियतले आफ्नो मुलुकका तर्फबाट हातेमालो गरी सुधार गर्न पाएकोमा हर्षित भएको बताए ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले तातोपानी नाका नेपाल र चीनबीचको ‘लाइफलाइन’ भएको बताइन् ।
उनले आगामी दिनमा पनि अरनिको राजमार्गको स्तरोन्नतिका लागि चीनले सहयोग गर्दै जानेसमेत बताइन् ।
सुक्खा बन्दरगाह
चीन सरकारको सहयोगमा तातोपानी सिमानाबाट नेपालतर्फ ६ किलोमिटर तल सुक्खा बन्दरगाह निर्माणको कामसमेत सम्पन्न भइसकेको छ ।
बुधबार नाका पार गरेका चारओटा ट्रकसमेत सोही बन्दरगाहबाट भन्सार चेकजाँच गरिनेछ । सो बन्दरगाहसम्म पुग्नका लागि पक्की पुलसमेत चिनियाँ सरकारको तर्फबाट नै निर्माण गरिएको हो ।
८.६ करोड चिनियाँ युयान (करिब २० करोड रुपैयाँ)को लगानीमा सो बन्दरगाह निर्माण गरिएको हो । बन्दरगाहमा १५८ ओटा कन्टेनर एकैसाथ भन्सार चेकजाँच गर्नसकिने गरी निर्माण गरिएको छ ।
भन्सार कार्यालय, अध्यागमन कार्यालयका साथै बैंक एवं कर्मचारी आवाससमेत सोही स्थानमा रहनेछ ।
तत्कालका लागि मालसामान ओसार–पसार गर्नमात्रै नाका सन्चालन गरिएको छ । हालका लागि मालवहाक गाडीमात्रै नाकाबाट आवत–जावत हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्