नाढीमन तालको माछा बिकेन • Image Khabar Image Khabar


नाढीमन तालको माछा बिकेन


Imagekhabar
२३ असार २०७७, मंगलवार ०९:१३

नाढीमन तालको माछा बिकेन

प्रकाश मैनाली
सर्लाही । सर्लाहीको नाढीमन तालको माछा बिक्री हुन सकेको छैन् । चन्द्रनगर गाउँपालिकामा पर्ने सो तालको माछा बिक्री नहुँदा गाउँपालिकाबाट पोखरी ठेक्कामा लिएर माछा हालेका ठेकेदार मारमा परेका छन् ।

सो तालको माछा ठेकेदार दुलार मुखिया बिनले पाँच वर्षका लागि २०७४ फागुन १२ मा ठेक्का लिनु भएको थियो । उहाँले छ करोड १९ लाख ९५ हजार रुपियाँमा तालको माछा ठेक्का लिनु भएको हो ।

तीन महिना बढीको बन्दाबन्दीले गर्दा माछाले बजार नपाएको ठेकेदार बिनले गुनासो गर्नुभयो । यहाँका सबैजसो माछा मानिसको बढी आवतजावत हुने शहरका होटलहरुमा जाने हो, बन्दाबन्दीले गर्दा होटल रेष्टुरेन्ट खुल्न पाएका छैनन्, ठेकेदार मुखियाले गुनासो गर्दै भन्नुभयो, ‘माछा धेरै उत्पादन हुने याममै बन्दाबन्दी हुँदा ठूलो नोक्सानी व्यहोर्नु पर्‍यो ।’

होटलहरु बन्द हुँदा तयार भइसकेको माछा पोखरीमै थन्किएको छ । गर्मीले गर्दा तालभित्र धेरै माछा मरेका समेत उहाँले बताउनुभयो । तीन महिना बजार ठप्प हुँदा ठेक्काको रकम उठाउन समेत मुश्किल पर्ने अवस्था आएको ठेकेदार मुखियाको गुनासो छ ।

सर्लाहीमा चन्द्रनगर, भक्तिपुर, ईश्वरपुर, ब्रह्मपुरी लगायतका क्षेत्रमा व्यवसायिक रुपमा माछापालन हुने गरेको छ । किसानले ठूल्ठूला पोखरी खनेर माछा पालन गर्दै आएका छन् । यहाँ उत्पादन भएको माछा सिन्धुली, लहान, इटहरी, धरान, काठमाण्डौं लगायत देशका प्रमुख शहर र छिमेकी मुलुक भारतको सीतामढीसम्म निकासी हुने गरेको छ ।

निजी पोखरी तथा ठेक्कामा पोखरी लिएर माछापालन गरेका किसानले पनि बन्दाबन्दीको मार खेप्नु परेको छ । अहिले विस्तारै बन्दाबन्दी खुकुलो भएपछि भने थोरै परिमाणमा माछा निकासी हुन थालेको किसानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्