Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


गणतन्त्र दिवसका अवसरमा प्रभातफेरी र मानव साङ्लो


0
Shares

जनकपुरधाम, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा प्रदेश नं २ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी आयोजना गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न चोक परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर समापन भएको थियो । 

सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आफ्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमूना रहेको बताए । तीन तहको सरकार बनिसकेकाले अब विकास निर्माणको जिम्मा हामी सबैको रहेको उल्लेख गर्दै उनले बताउँदै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे ।

प्रभातफेरीमा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षा निकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो । 

त्यसैगरी गणतन्त्र दिवसका अवसरमा आज जनकपुरधामको जानकी मन्दिर परिसरमा विभिन्न शैक्षिक प्रतिष्ठानका शिक्षार्थीद्वारा मानव साङ्लो बनाइएको छ । एकताको सन्देशका लागि जनकपुरधामका विभिन्न शैक्षिक प्रतिष्ठानद्वारा मानव साङ्लो बनाएको बताइएको छ ।

प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयमा हिजो बसेको सर्वपक्षीय बैठकले दुई दिनसम्म विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरेको निर्णयअनुसार आज यहाँ मानव साङ्लो निर्माण गरिएको हो । सोही अवसरमा भोलि बिहीबार चियापान समारोह गरिने कार्यक्रम रहेको छ । (रासस)