१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


कमलाखोंच क्षेत्रका बासिन्दा जंगली हात्ती आतंकबाट पीडित


0
Shares

-यशोदा रावत/ईमेज

सिन्धुली । सिन्धुलीको कमलाखोचस्थित चुरे वन क्षेत्रमा रहेका जंगली हात्तीको आतंकबाट स्थानीय पीडित बनेका छन् ।

लामो समयदेखि सो क्षेत्रमा बस्दै आएका हात्तीले पटकपटक जनधनको क्षति गराउँदै आए पनि व्यवस्थापनमा ध्यान नदिँदा स्थानीय पीडित बनेका हुन् ।

लामो समयदेखि बास जमाएर बसेका जंगली हात्तीको आतंकले सिन्धुलीको रानीबास क्षेत्रमा किसानले सयौँ विगाह जमिन बाँझै राख्न थालेका छन् ।

दीगो रुपमा हात्तीको व्यवस्थापनका लागि सरकारी निकायले खासै चासो नदिँदा अन्नबाली जोगाउनै नसकिने भएपछि उनीहरु खेतीयोग्य जमिन बाँझै राख्न बाध्य भएका हुन् ।

त्यतिमात्र होइन रातको समयमा घरमा पसेर घर भत्काउने मान्छेलाई मार्ने सम्मका उपद्रो हात्तीबाट हुन थालेपछि स्थानीयले रातको समयमा आफै गस्ती र निगरानी समेत गर्दै आएका छन् ।

रानिबास, निपानेलगायतका क्षेत्रमा जंंगली हात्तीेको आतंक नियन्त्रण गर्न स्थानीयले कैयौं पटक सरकारी निकायसँग हारगुहार गरेका छन् । तर यस समस्या समाधानकोे ठोस पहलकदमी हुन सकेको छैन ।

कमलाखोच क्षेत्रको रानीवासमा ३ देखि ५ वटा संख्यामा रहेका जंगली हात्तीले रातको समयमा स्थानीयको घर आवास भत्काउने र स्थानीय किसानहरुको खेतवारीका अन्नवाली खान थालेपछि सामान्य जनजीवन आतंकित बन्दै आएको छ ।

साल र सिसौंको जंगल भएको कमलाखोच र चुरे पहाड वन क्षेत्रमा जंगली हात्तीको प्राकृतिक बासस्थान भएकाले त्यसमा स्थानीय सचेत र सजग हुनुपर्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी रामशरण गौतम बताउँछन् ।

करिव दश वर्ष अगाडिदेखि सिन्धुलीको रानीवास र निपाने क्षेत्रमा स्थायी रुपमा बासस्थान बनाई बसेका जंगली हात्तीका कारण हालसम्म एक दर्जन मानिसले अकालमै ज्यान गुमाएका छन् भने हजारौं हेक्टर खेतीयोग्य जमिनको उपयोग हुन सकेको छैन ।

यस्तो संवेदनशील अवस्थाप्रति तिनै तहका सरकारहरु मुकदर्शक बन्नु आँफैमा लाजमर्दो छ ।