
मिरा बस्नेत र राममान ढंगोल (ईमेज)
काठमाडौं, असार २१ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीसंग मुलुक जुधिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भने सत्ता संघर्षको दलदलमा फसेको छ ।
महामारी नियन्त्रणमा सरकार र सम्पूर्ण दलहरुको ध्यान कन्द्रित हुनु पर्ने समयमा नेकपाको आन्तरिक किचलोले स्वास्थ्य प्रतिको सरकारी संवेदशीनलता उपेक्षित बने जस्तो देखिएको छ बढ्दो संक्रमण नियन्त्रण र रोकथाम थप चुनौतिपूर्ण देखिएको छ ।
कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले चैत्र ११ गते लकडाउन घोषणा गर्दा संक्रमितको संख्या २ जना मात्र थियो भने अहिले ४ महिनाको अवधिमा त्यो संख्या बढेर १६ हजारको हाराहारीमा पुगेको छ ।
संक्रमण पुष्टि भएका ३४ जनाको मृत्यु भएको छ । परीक्षणको दायरा बढाउनुपर्ने माग गर्दै कोही सडकमा उत्रिएका छन् भने कोही अनशनमा समेत छन् ।
कोराना महाव्याधीका कारण राज्य संयन्त्रका सम्पूर्ण अवयव शिथिल बनेका छन् । अर्थतन्त्र धरापमा परेको छ ।
अहिलेको विषम परिस्थितिमा सरकारको सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित गरी डामाडोल अर्थतन्त्र उकास्नतिर लाग्नु पर्ने हो ।
तर सत्तारुढ दल नेकपा भने आन्तरिक विवादमा फस्दा यी विषय ओझेलमा परेका छन् । यद्यपी नेकपा भित्रको विवाद भने नौलो भने होइन ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश ल्याएर कोरोना महामारी रोकथाम र नियन्त्रणलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लागेको थियो ।
एमसीसी सम्झौता अनुमोदन गर्ने प्रयासमा पनि सरकारको धेरै समय खर्चिएको छ । राजनीतिक विश्लेशक डा. राजेन्द्र चापागाई सत्तासीनहरुको पछिल्लो गतिविधि हेर्दा मुलुक कोरोना संक्रमणले ग्रस्त छ र भन्ने जस्तो नै नलाग्ने ठान्नुहुन्छ ।
सरकारमा रहेकाहरुो ध्यान नागरिकको स्वास्थ्यमा भन्दा पनि आफ्रनै कुर्सी जोगाउन तिर केन्द्रीत भएको उहांको भनाई छ ।
देशमा जस्तोसुकै संकट आए पनि सरकारको प्रमुख प्राथमिकता यसको व्यवस्थापननै हुनुपर्ने हो ।
तर अहिले सरकारको ध्यान कोरोनाकै कारण धरापमा परेको उद्योग व्यवसाय, पर्यटन क्षेत्र, कृषि लगायतका क्षेत्रहरुलाई कसरी उकास्ने भन्ने तर्फ भन्दा पनि शक्ति संघर्षलाई कसरी आफु अनुकुल बनाउने भन्ने रणनीतिमा लागेको छ ।
सामजिक अभियान्ता गौरी प्रधान सरकारले कोरोना रोकथामका लागि केही प्रयासहरु गरेपनि प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । महामारीको समयमा सरकार आन्तरिक विवादमा अल्झीनुले सरकार महामारी प्रति गम्भीर नभएको विश्लेषण उहांको छ ।
कोरोना महामारीले आक्रान्त बनेको मुलुकमा नागरिकको स्वाथ्य भन्दा राजनीतिक खिचातानीमा सत्तारुढ दल र सरकार यो हद्सम्म रुमल्लिनु भने दूर्भाग्यपूर्ण देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्