काठमाडौं, जेठ १४ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ ।
मंगलबार मूलपानी मैदानमा भएको खेलमा कर्णाली प्रदेशमाथि ११७ रनको फराकिलो जित हासिल गर्दै आर्मी सेमिफाइनलनजिक पुगेको हो ।
समूह ‘बी’बाट शतप्रतिशत नतिजा निकाल्नेक्रममा टस हारेर आर्मीले पहिले ब्याटिङ गर्दै राजु रिजाल, रोहितकुमार पौडेल र हरिकृष्ण झाको अर्धशतकीय इनिङ्सको मद्दतले ५० ओभरमा ९ विकेटको क्षतिमा २९० रन बनाएको थियो । राजुले ६६, रोहितले ५६ तथा हरिकृष्णले ५२ रन बनाए ।
कर्णालीका ललित प्याकुरेल एक्लैले ५ विकेट लिए ।
जवाफमा कर्णालीले ३५ ओभर ५ बलमा ‘अलआउट’ हुनुपूर्व १७३ रनमात्र बनाउन सक्यो ।
ललित र युनिस सिंहले अन्तिम विकेटका लागि ५३ रनको साझेदारी गरे पनि टिमलाई जिताउन सकेनन् । ललितले अविजित २८ तथा युनिसले २० रन बनाए ।
आर्मीका सुशन भारीले ४ विकेट लिए ।
३ खेलबाट ६ अंकको आर्मी शीर्ष स्थानमा रहँदा एक खेलबाट २ अंकको नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ ।
प्रदेश–३ को लगातार दोस्रो जित
प्रदेश नम्बर–३ ले लगातार दोस्रो जित हासिल गर्दै समूह ‘ए’को शीर्ष स्थानमा पुगेको छ ।
पहिलो खेलमा पराजित भएपनि त्यसपछि लगातार दोस्रो जित निकाल्दै पारस खड्का कप्तानीको प्रदेश–३ शीर्ष स्थानमा पुगेको हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा गन्डकी प्रदेशमाथि ७ विकेटको जित निकाल्दै प्रदेश–३ शीर्ष स्थानमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको गन्डकीले ३० ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १०८ रनमात्र बनाएको थियो ।
सुम घिमिरेले ३४ रन बनाएको इनिङस्मा ८ खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
‘म्यान अफ दी म्याच’ घोषित पारस र सूर्य तामाङले समान ४/४ विकेट लिए ।
जवाफमा प्रदेश–३ ले २२ ओभर २ बलमै ३ विकेटको क्षतिमा विजयी चुनौती पूरा गर्यो । आदिल खानले अविजित रहँदै ३८ रन बनाए ।
यो खेलसँगै प्रदेश–३ को तीन खेलबाट ४ अंक भएको छ भने दुई खेलबाट ४ अंकको सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो स्थानमा झरेको छ ।
प्रतियोगिताअन्तर्गत् बुधबारको खेलमा कर्णालीले प्रदेश नम्बर–२ सित र पुलिसले प्रदेश नम्बर–१ सित खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्