२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


नेपाल सरकारको असन्तुष्टि बेवास्ता, ‘राजदूतसँग गफगाफ’ सुरु


0
Shares

काठमाडौं, जेठ १४ । नेपाल सरकारको असन्तुष्टिलाई बेवास्ता गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’ नामक साप्ताहिक शृंखला सुरु गरेका छन् ।

फेसबुक र ट्वीटरमा भएका ‘फलोअर’लाई प्रत्यक्ष भेट्न असम्भव भएको भन्दै राजदूत बेरीले राजदूतसँग गफगाफ नामक साप्ताहिक शृंखला सुरु गरेका हुन् ।

पहिलो शृंखलामा नेपाली विद्यार्थी प्राचीले अमेरिकी राजदूतलाई ‘पढ्नका लागि अमेरिका जान चाहने विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ ?’ भन्ने प्रश्न गरेकी थिइन् ।

जवाफमा राजदूत बेरीले अमेरिका पुगेर पढ्न आवश्यक तयारीमा निकै समय र मिहिनेत लाग्ने बताउँदै त्यसको प्रक्रियाबारे आवश्यक जानकारी लिन एजुकेसन युएससम्बन्धी सल्लाहकारको परामर्श लिनु उपयुक्त हुने बताए ।

अमेरिकी दूतावासले ‘तपाइँले राजदूतलाई एउटा प्रश्न सोध्ने अवसर पाउनुभयो भने त्यो के हुन्थ्यो ?’ भन्दै साप्ताहिक भिडियो ‘सिरिज’मा प्रश्न सोध्न आह्वान गरेको थियो ।

‘पब्लिक डिप्लोमेसी’अन्तर्गत् सुरु गरिएको यो शृंखलामा हरेक सोमबार नयाँ प्रश्न–उत्तर भिडियोकारुपमा आउने दूतावासले जनाएको छ ।

अमेरिकी राजदूतसँगको गफगाफ शृंखलाको घोषणापछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयले राजदूतको गफगाफलाई ‘कूटनीतिक मर्यादाविपरीत’ भनेको थियो ।

परराष्ट्रसचिव शंकरदास बैरागीले अमेरिकी राजदूत बेरीलाई मन्त्रालयमै बोलाएर जानकारी पनि लिएका थिए ।

तर, आलोचनाकैबीच सोमबार राजदूतसँग गफगाफको पहिलो शृंखला भने सार्वजनिक भएको छ ।