२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


१४९५ दिनपछि तातोपानी नाका सन्चालन


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, जेठ १४ । अन्ततः लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका बुधबारदेखि सन्चालन हुने भएको छ ।

भैंचालोले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सन्चालनमा आउन लागेको हो ।

नाका सन्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना हुनेछ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवं राजनीतिक दलका नेता सहभागी हुनेछन् ।

यस्तै, चीन सरकारका तर्फबाट भाइस मिनिस्टर अफ जनरल एडमिनिस्ट्रेसन कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारी सहभागी हुने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।

बुधबार गणतन्त्र दिवससमेत परेकाले महत्वपूर्ण कार्यक्रम तय गरिएको छ । प्रजिअ चेम्जोङकाअनुसार बिहान ११ बजे नेपाल र चिनियाँ अधिकारीबीच द्विपक्षीय छलफल हुनेछ ।

त्यस्तै, १२ बजे दुई देशका उच्च अधिकारीको उपस्थितिमा तातोपानी नाका पुनः सन्चालनमा आएको घोषणा गरिनेछ ।

रिबन काटेर नाका सन्चालनमा आएको घोषणा गरिने र तिब्बतबाट ऊन बोकेर आउने चार कन्टेनरको स्वागत गरिनेछ । नेपालका तर्फबाट पनि दुई कन्टेनर खासा पठाउने तयारी गरिएको छ ।

खासाबाट ऊन ल्याउनका लागि मंगलबार बिहानमात्रै चार कन्टेनर त्यसतर्फ लागेका छन् ।

नाका पुनः सन्चालनमा ल्याउने कार्यक्रम थप व्यवस्थित बनाउन सीमावर्ती भोटेकोसी गाउँपालिकालेसमेत आवश्यक तयारी गरेको छ ।

सोही गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम थप भव्य र आकर्षक बनाउन आवश्यक तयारी गरिएको जानकारी दिए ।

उनले सोमबार १० नेपाली कामदारसमेत खासा गएको जानकारी दिए ।

मितेरी पुलको काम बुधबार सकिने भएकाले मंगलबार पुलमुनिको अस्थायी बाटो हुँदै कन्टेनर खासा प्रस्थान गरेको हो ।

नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोली यही शनिबार तातोपानी पुगेको थियो ।

नाकामा शान्ति सुरक्षाको अवस्था चुस्त–दुरुस्त राख्न र कुनैपनि प्रकारको कमजोरी नगर्न गृहमन्त्री थापाले निर्देशन दिएका थिए ।

नाकालाई व्यवस्थित बनाउन अध्यागमन र भन्सार कार्यालय तथा व्यवसायीलेसमेत आवश्यक समन्वय गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए ।

नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीकोसमेत चहलपहल बढेको छ ।

वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सन्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्सााहित भएका छन् ।

भुइँचालोपछि खाली रहेको अध्यागमन र भन्सार कार्यालय सफा–सुग्घर बनाइ सन्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतको भनाइ छ ।

नेपाल हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले औपचारिकरुपमा नाका बुधबारदेखि खुल्ने भएपनि मंगलबारै चार कन्टेनर अनौपचारिकरुपमा प्रवेश गरी खुलेको छ ।

विगतकोजस्तै बजार व्यस्त हुने, रोजगारीको अवसरमा वृद्धि हुने र मुलुकलेसमेत त्यसबाट फाइदा लिनसक्ने उनको भनाइ छ ।