२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


चट्याङ लागेर एक जनाको मृत्यु


0
Shares

लमजुङ, जेठ १४ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करीब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नफर्किएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोमबार राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ ।

खबरलगत्तै भोर्लेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो । चट्याङ लागेर मृत्यु भएका साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए ।

उनका अनुसार शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ ।

मंगलबार साँखीको शव परीक्षण हुने प्रहरीले जनाएको छ । मृतक साँखीले मङ्गला माध्यमिक ११ कक्षाको परीक्षा दिएर बसेका थिए ।

त्यस्तै सोही स्थानकै स्थानीय कृष्णप्रसाद बगालेको एउटा राँगो चट्याङ लागेर मरेको छ । (रासस)