२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


एक अर्ब लागतमा बुटवलमा प्रदर्शनी केन्द्र बनाउन सुरु


0
Shares

बुटवल, जेठ १३ । उद्योगी–व्यवसायी संस्थाहरुले वर्षौंदेखि माग गर्दै आएको स्थायी प्रदर्शनी केन्द्र बुटवलमा बन्ने भएको छ ।

प्रदर्शनी केन्द्रको सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले शिलान्यास गरे ।

रामनगरस्थित बुटवल मन्डपको ६.४ विगाहा क्षेत्रफलमा सहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउन लागेको हो ।

एक अर्ब दुई करोड रुपैयाँ लागतमा बनाउन लागिएको प्रदर्शनी केन्द्र काठमाडौंको भृकुटीमन्डपपछि दोस्रो हुनेछ ।

प्रदर्शनी केन्द्र निर्माणका लागि ‘ग्लोबल टेन्डर’ आह्वान भइ क्यापासिट इन्फ्रा प्रोजेक्ट्स (गौरी–पार्वती जेभी कम्पनी) ले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले बताए ।

२७ महिनाभित्र निर्माण सम्पन्न हुने भनिएको प्रदर्शनी केन्द्रमा एकपटकमा १० हजारजनाले अवलोकन गर्नसक्ने र ८०० ओटा स्टल हुनेछन् । हरेक स्टल १४४ फुटका हुनेछन् ।

यस्तै, ४५० जना क्षमता र ३०० जना क्षमताका दुईओटा सेमिनार हल, दुई हजारजना क्षमताको फूडकोर्ट र एउटा प्रशासनिक भवन बन्नेछ ।

प्रदर्शनी केन्द्र निर्माणका लागि ५२५ ओटा रुख काट्नुपर्ने हुन्छ । वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराइ रुख काट्ने अनुमतिसमेत प्राप्त भइसकेकाले अब काम द्रुतगतिमा अघि बढ्ने आयोजना प्रमुख लामाले बताए ।