
काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका मिडियामाथि आफ्नो असन्तुष्टि पोखेका छन् ।
मिडियाले समाजको हुर्मत लिएको, चीरहरण गरेको उनको आरोप छ ।
सोमबार राजधानीमा राष्ट्रिय मानवअधिकार आयोगको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मिडियाले राजनीतिलाई प्रदूषित र फोहोरी बनाएको आरोपसमेत लगाए ।
‘मुद्दाविहीन विषयलाई मुद्दा बनाइन्छ । जस्तो गालीगलौज गर्नपनि छुट दिनुपर्ने ? हाम्रो सभ्यताको धज्जी उडाउने ?’–उनले भने–‘मिडियालाई बेलगाम वा स्वतन्त्रताका पक्षमा छौं । संविधानको एक अक्षर पनि नाघ्दैनौं ।’
उनले मिडियाले तथ्यमा ध्यान दिनुपर्ने र जिम्मेवारीपूर्वक प्रस्तुत् हुनुपर्नेमा जोड दिए ।
‘हत्यामा राजनीति गर्न खोजियो’
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा राजनीति गर्न खोजिएको दाबी प्रधानमन्त्री ओलीले गरे ।
निर्मला बलात्कार–हत्या प्रकरणमा प्रहरी प्रशासनबाट त्रुटि भएको भन्दै उनले सरकारले अपराधी पत्ता लगाउन प्रयास गरेको तर निष्कर्षमा पुग्न नसकेको उल्लेख गरे ।
‘विप्लवलाई चाहिएको के हो ? माग के हो ?’
प्रधानमन्त्री ओली नेत्रविक्रम चन्द नेतृत्वको समूहप्रति पनि आक्रोशितरुपमा प्रस्तुत् भए ।
‘विप्लवलाई चाहिएको के हो ? माग के हो ?’–उनले प्रश्न गरे–‘आतंककारी समूहमात्र बन्ने ?’
त्रास फैलाउने, बम हानेर निर्दोष जनता मार्ने, विकासका काम गर्न नदिने, पैसा असुल्नेजस्ता अभिष्ट चन्द समूहको देखिएको उनको भनाइ थियो ।
‘सरकार रोक्न दृढ छ । मानवअधिकार, सभ्यता, मर्यादाविपरीत काम हुन दिँदैनौं’–उनले भने ।
‘मैलेजति लोकतन्त्रको अभाव कसले भोगेको होला ?’
मानवअधिकारका सन्दर्भमा देशलाई अन्तर्राष्ट्रियस्तरमा कमजोर हुन नदिने उनले जिकिर गरे ।
विभिन्न विधेयकहरु छलफलका लागि ल्याइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई संसदमा गहन छलफलपछि लोकतन्त्र र मानवअधिकारमैत्री बनाइने स्पस्ट पारे ।
‘मानवअधिकारको चर्चा लोकतन्त्रमामात्रै हुन्छ । तानाशाहीमा हुने कुरै भएन । राणा, पञ्चायती व्यवस्थामा हुनै सकेन’–उनले भने–‘निर्दिष्ट र तोकिएको बाटोबाट गए मानवअधिकार पूरा हुन्छ । सैद्धान्तिक बायसनेसबाट बहस हुनुहुन्न । भएमा ठीक हुन्न ।’
उनले ‘मैलेजति लोकतन्त्रको अभाव कसले भोगेको होला ? संघर्ष पनि गरेको छु । मेरो निष्ठा–प्रतिबद्धता कसैकोभन्दा कम छैन’–भने ।
नेपाल राजनीतिकरूपमा अन्यत्रभन्दा बढी लोकतान्त्रिक रहेको उनले बताए । सामाजिक, आर्थिक, सांस्कृतिकरूपमा पनि अब्बल रहेको प्रधानमन्त्री ओलीको धारणा छ ।
कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार आयोग र मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सरोकारवालाहरुको चासो सम्बोधन गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्