२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कोटेश्वरबाट पक्राउ परेका विप्लव समूहका ७ कार्यकर्तामाथि थप अनुसन्धान हुँदै


0
Shares

अपडेट:

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रेसर कुकरसहित पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव)समूहका ७ जना कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेकाहरुसँग प्रहरीले प्रारम्भिक बयान लिएको छ । उनीहरुले राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आजै अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

पक्राउ पर्नेहरुमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिराम पुन, बुद्धिबहादुर सुनार, राकेश श्रेष्ठ, चित्रकमल ओली र डम्बरबहादुर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ वटा प्रेसर कुकर, चन्द समूहको ब्यानर, पर्चा, केही किताब र कागजात बरामद गरेको छ ।

को हुन् प्रज्ज्वल शाही ?

काठमाडौंको घट्टेकुलोमा आइतबार भएको बम विस्फोटमा मारिने प्रज्ज्वल शाही बझाङ निवासी भएको खुलेको छ ।

२०५८ सालमा जन्मिएका प्रज्ज्वल २०६८ सालमा माओवादी हुँदै नेत्रविक्रम चन्द नेतृत्वको समूहमा आवद्ध भएका थिए ।

दुई बहिनी र दुई भाइसँगै २०६८ सालमा काठमाडौं आएका उनले समाज कलेज अफ हेल्थ साइन्समा अध्ययन गरेका थिए ।

उनी २०७५ सालमा लगानी सम्मेलनका बेला पक्राउ परेका थिए । त्यसपछि २४ दिनसम्म हिरासतमा राखिएका प्रज्ज्वल चन्द समूहका हरेक गतिविधिमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

प्रज्ज्वल आइतबार आफैंले बोकेको बम विस्फोटमा मारिएका हुन् । उनको शव सोमबार पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।