२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


मोदी र इमरानबीच लामो समयपछि फोन सम्वाद


0
Shares

नयाँ दिल्ली, जेठ १३ । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रुअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो ।

फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि मोदीलाई वधाई दिएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, ‘दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको थियो ।’

‘दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोराउँदै खानले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताउनुभएको छ,’ पाकिस्तानी विज्ञप्तिमा उल्लेख छ ।

‘भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद)ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए ।

जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो ।

यसअघि पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् वधाई ज्ञापन गरेको घटना नै सम्भवत: दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो ।

मोदी र उनको हिन्दु राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि वधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले उनका भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका हुन् । (रासस/एएफपी)