२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


बारा–पर्साका सिमेन्ट उद्योग संकटमा


0
Shares

कलैया, जेठ १२ । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षपछि नेपाल सिमेन्टमा आत्मनिर्भर भई निर्यात गर्ने अवस्था बनिसक्दा पछिल्लो समय बारा, पर्साका केही सिमेन्ट उद्योग भने संकटमा पर्न थालेका छन् ।

आन्तरिक प्रतिस्पर्धा गर्न नसकी पछिल्लो समय बारा पर्साका सिमेन्ट उद्योगहरु संकटमा पर्न थालेका हुुन् । कच्चा पदार्थको आयातमा ढुवानी लागत महँगो हुनु, बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्नु, आफ्नो खानी नहुँदा सबै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था आउँदा अन्य क्षेत्रका खानी भएका सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा बारा, पर्साका सिमेन्ट उद्योगहरुमा संकट देखा परेको बताइएको हो ।

गिगत ६ महिना यता एकाएक सिमेन्टको बजारमा मूल्य झर्दै गएपछि क्लिंकर उत्पादन गर्ने खानी रहेका उद्योगसँग प्रतिश्पर्धा गर्न यहाँका उद्योगहरुलाई कठिन बनेको जनाइएको छ । 

बारा र पर्सामा विश्वकर्मा, अम्बे, जगदम्बा, त्रिशक्ति, आरएमसी, रिलायन्स, कृष्ण, अरनिको, स्टार, शालीमार, लगायत १३ वटा सिमेन्ट उद्योग संचालनमा छन् । यहाँका उद्योगहरुबाट दैनिक २० हजार टन सिमेन्ट उत्पादन हुने गरे पनि हाल घटेर करिब १० हजार टन बराबर उत्पादन भई बजारमा जाने गरेको बताइएको छ ।

१२५ टन उत्पादन क्षमता भएका कतिपय साना सिमेन्ट उद्योगहरुले उत्पादन समेत न्युन मात्रामा गर्दै आएका छन । एउटा प्लान्ट बाट ३ सय टन उत्पादन गर्ने उद्योगहरु सातामा एक÷दुई दिनमात्र चल्ने गरेको बताइएको छ । भारतीय रेलवेले २०७४ पुस ७ देखि वीरगञ्ज–रक्सौलको रेलवे यार्डमा क्लिंकर लोड–अनलोड बन्द गरेको छ । यसका कारण आयातकर्ताले अहिले कच्चापदार्थ १२५ किलोमिटर टाढाको नारायणपुरबाट ढुवानी गर्न बाध्य बनेका कारण उत्पादन लागत बढी परेका सिमरा जितपुर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह बताउँछन् ।

कच्चा पदार्थको आयातमा विगत डेढ वर्षदेखि हैरानी खेपिरहेको भन्दै यसको वैकल्पिक प्रवन्धका लागि उद्योगीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।