
पोखरा, जेठ १२ । नेपाली सेना र युएस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा गत आइतबारदेखि पोखरामा जारी विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम आज सकिएको छ ।
सप्ताहव्यापी कार्यक्रममा क्रममा विपद् व्यवस्थापन विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न नमूना अभ्यास गरिएको थियो ।
नेपाली सेना र युएस आर्मी प्यासिफिकको सहकार्यमा सन् २०११ देखि हालसम्म चार वटा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम गरिएकोमा प्रादेशिक संरचनामा पहिलोपटक पोखरामा यस किसिमको अभ्यास गरिएको हो ।
पोखरामा आइतबार आयोजित समापन कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले प्राकृतिक रुपमा आइपर्ने जस्तासुकै विपत्तिको जोखिम न्यूनीकरणमा यस किसिमका अभ्यास उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
नेपाली सेना विपद् प्रतिकार्यका क्षेत्रमा सक्रियताका साथ आफूलाई उभ्याएको चर्चा गर्दै उनले २०७२ सालको भूकम्प लगायतका विपत्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।
नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले प्राकृतिक रुपमा आइपर्ने विपत्तिपछिको उद्धारका लागि यस किसिमका अभ्यास उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
नेपाली सेनाका युद्ध कार्य निर्देशनालयका महानिर्देशक मेजर जनरल प्रभुराम शर्माले प्रतिकार्य अभ्यासमा अमेरिका, बेलायत, थाइल्याण्ड, मंगोलिया, श्रीलंका, बंगलादेशलगायतका मुलुकबाट एक सय ९१ जना सहभागी रहेको जानकारी दिए ।
प्रतिकार्य अभ्यासका क्रममा कार्यपत्र प्रस्तुति, समूहगत छलफल एवं अन्तरक्रियाका साथै विभिन्न नमूना अभ्यास गराइएको बताउँदै उनले यसले विपत्तिपछिको उद्धार लगायतमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्