काठमाडौं, जेठ १० । १६ औं संस्करणको पल्सर स्पोर्टस् अवार्ड आगामी असार १७ गते हुने भएको छ । यो संस्करणमा विभिन्न १० विधामा खेलकर्मीहरु सम्मानित हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गरी जनाएको छ ।
नौ विधामा पुरस्कार वितरण गरिदै आएकामा यसपटक ‘इन्टरनेसनल एसियन स्पोर्टस् जर्नालिष्ट अवार्ड’ थपिएको मञ्चले जनाएको छ ।
अन्य विधामा उत्कृष्ट खेलाडी महिला तथा पुरुष, उत्कृष्ट युवा खेलाडी, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट, स्पेशल, लाइफटाइम एचिभमेन्ट र टिम अफ द इयर रहेका छन् ।
खेलाडी तथा खेलकर्मीले २०७५ सालमा देश विदेशमा गरेको प्रदर्शनको आधारमा अवार्ड विजेताहरुको घोषणा गरिने छ ।
विगतमा झैं यस वर्ष पनि वर्ष खेलाडी पुरुष तथा महिला, पिपुल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिइने छ ।
यसैबीच, पत्रकार सम्मेलनमा मूख्य प्रायोजक बजाज पल्सरको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडसँग सम्झौतापत्र आदानप्रदान गरियो ।
मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र प्रायोजक कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक शेखर गोल्छाले सम्झौतापत्र आदान प्रदान गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्