१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


त्रिशूली र देवीघाट केन्द्रको उत्पादन बन्द, मर्मत गर्न अझै एक साता लाग्ने


0
Shares

नुवाकोट, असार २९ । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुर्‍याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।

जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्‍याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको ‘बसबार’ र तीनओटा ‘ब्रेकर’मा आगोले क्षति पुर्‍याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ ।

विद्युत् उत्पादन गर्न सकिने भएपनि मर्मतका लागि बन्द गर्नुपर्ने बाध्यताले मंगलबार अपराह्नको आगोलागीलगत्तै त्रिशूली र बुधबारदेखि देवीघाट जलविद्युत् केन्द्र बन्द गरिएको त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

आगोलागीबाट क्षति पुगेका टर्बाइनको मर्मतमा नेपाल विद्युत् प्राधिकरणका १५ जनाभन्दा बढी प्राविधिक खटिएको भट्टले बताए ।

उनकाअनुसार आगोले क्षति पुगेका ब्रेकर भैरहवा सबस्टेसनमा मौजुदा रहेकाले त्यहाँबाट ल्याउन पहल भइरहेको छ ।

‘पूर्णक्षति भएका उपकरणको लगत लिएर सामग्री मगाएका छौं’–उनले भने–‘आगो निभाउन फायर एक्सटिनगुइसर ग्यास पर्याप्त नभएपछि दमकलमार्फत् पानीसमेत प्रयोग भएकाले त्यसको कारण क्षति पुगेका उपकरण कति भन्ने यकिन हुन अझै बाँकी छ ।’

उनकाअनुसार प्रारम्भिक लगतको आधारमा रु एक करोडभन्दा बढी क्षति पुगेको छ ।

त्रिशूली जलविद्युत् केन्द्र मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सन्चालनमा रहेको देवीघाट जलविद्युत् केन्द्र पनि बन्द गरिएको हो ।

बन्द भएका दुई जलविद्युत् केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको र सो अवरुद्ध हुँदा दैनिक रु ५० लाखभन्दा बढीको विद्युत् उत्पादन रोकिएको त्रिशूली जलविद्युत् केन्द्रका वितरण शाखा प्रमुख सन्तोष कुमारले जानकारी दिए ।

उनकाअनुसार क्षति पुगेका उपकरण मर्मत गर्न कम्तीमा एक साता लाग्ने देखिएपछि यहाँका केन्द्रमार्फत् वितरण भएको विद्युत्लाई बुधबार साँझदेखि राष्ट्रिय ग्रीडमार्फत् जडान गरी विद्युत् सन्चालन गरिएको छ । रासस