२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


महमाइमा पक्की पुल निर्माणको काम अन्तिम चरणमा


0
Shares

इलाम । इलामको माइ नगरपालिकाको महमाइका बासिन्दा वर्षायाममा वर्षौँदेखि बेहोर्दै आएको त्रास र सास्तीबाट मुक्त हुने भएका छन् ।

नदी वारपार गर्ने पक्की पुल नहुँदा कष्टकर जीवन बिताउँदै आएका स्थानीय पुल निर्माणसँगै विगतको नियति भोग्नु नपर्ने भएपछि हर्षित बनेका हुन् ।

सुख्खायाममा सरर टेप्पो चढेर नै महमाई र दानावारी आउजाउ गर्न कठिन छैन । अस्थाई बाँसको पुलसमेत भएकाले साइकल र मोटरसाइकलमा यात्रा गर्दा पनि पानी छुनुपर्दैन ।

तर वर्षा लाग्नसाथ यहाँका बासिन्दाको दैनिकी ठिक उल्टो हुन्छ वर्षायामको भेलसँगै उर्लेर आउने खोलाले उनीहरुको अस्थाई पुल सखाप पारिदिन्छ ।

यसबाट आवतजावत असुरक्षित र कष्टकर मात्र बनेको छैन  कतिजनाले त भेलसँगै बगेर ज्यान गुमाएका छन् ।

सवारीका साधनहरु वारपार गर्न नसक्दा वारपार गर्न डुङ्गाको असुरक्षित यात्रा गर्नुपर्ने हुन्छ ।

सदियौंदेखि यस्तै नियतीबाट गुज्रिरहेका स्थानीय माइखोलामा निर्माणाधिन पक्की पुलको काम अन्तिम अवस्थामा पुगेकाले त्यो जोखिमबाट पार पाउनेमा आशावादी छन् ।

पुल निर्माण  सम्पन्न भएपछि दैनिक आवतजावत त सहज हुन्छ नै साथसाथै आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रमा उल्लेख्य फाइदा पुग्ने स्थानीयको भनाइ छ । 

खोला तर्ने साधनकै अभावमा डुङ्गाको बाध्यकारी यात्रा गर्दा २०७३ असोजमा आठ जनाको ज्यान गएको घटनाले स्थानीयलाई पटकपटक झस्काइरहन्छ ।

निर्माणाधीन पाँच सय पचार मिटर लामो पुलको काम करिव ८५ प्रतिशत सकिएको छ ।

सबै काम सकेर सवारी सञ्चालन गर्न केही महिना लाग्ने भए पनि मानिस आवत जावत गर्न भने यहीँ महिनादेखि सकिने भएपछि  विगतमा भोग्नुपरेका पीडाहरु हट्ने स्थानीय काजीमान बराइलीको भनाइ छ ।

२०६९ सालवाट सुरु भएको पुल निर्माणको काम भूकम्प र नाकाबन्दीका कारण केही ढिलो भए पनि पछिल्लो समय उत्साहजनक रुपमा काम अगाडि बढेको छ ।