२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन्


0
Shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ को बाग्मती नदीबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गर्न थालिएपछि स्थानीय चिन्तित बनेका छन् ।

नदीबाट जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी क्रसर उद्योगमा बिक्री गरेपछि स्थानीय आक्रोसितसमेत भएका छन् ।

नदीबाट गिट्टी, बालुवा, ग्राभेल तथा ढुंगा उत्खनन् गरिँदा वर्षायाममा गाउँबस्तीमा बाढी पस्ने त्रास भएको स्थानीयले बताएका छन् ।

बाग्मती नदीको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा तोकिएको भन्दा फरक स्थानबाट नदीजन्य पदार्थ उत्खनन् भएको स्थानीय बलराम राउतले बताए ।

चन्द्रपुर नगरपालिकाले टेण्डर मार्फत ६७ हजार घनमिटर नदीजन्य वस्तु निकाल्न अनुमति दिएपछि ठेक्का सकार गरेको सगुन कन्ट्रक्सनले तोकिएको परिणाम भन्दा बढी उत्खनन् गरेको दाबी उनको छ ।

अहिले तीनवटा स्काभेटरले दैनिक नदीजन्य पदार्थ उत्खनन् गरी १५ वटाभन्दा बढी टिपरले ओसार्ने गरेको स्थानीयको आरोप छ ।

चन्द्रपुर नगरपालिकाको सिफारिसका आधारमा जिल्ला समन्वय समिति गौरले पटक पटक गरेर मासिक रुपमा पत्र पठाई उत्खनन् गर्न आदेश दिएको छ ।

माघ महिनामा ११ हजार घनमिटर, फागुनमा ७ हजार, चैतमा ३५ सय र वैशाखमा ३ हजार घनमिटर उत्खनन् गर्न दिइएको छ ।

यसरी उत्खनन् गरिएको सामग्री सर्लाहीस्थित रायमाझी क्रसर उद्योगमा पुग्ने गरेको स्थानीय बताउँछन् ।

स्काभेटरले २ देखि ३ मिटरसम्मको गहिराइसम्म मात्र उत्खनन् गर्न पाउने भए पनि १० मिटरसम्म गहिरो गाल्डो बनाएकाले नदीबाट जोखिम बढेको स्थानीयको गुनासो छ ।

सगुन कन्ट्रक्सनले नदीको धार परिवर्तन हुने गरी गिट्टीजन्य पदार्थ उत्खनन् गरिरहँदा बाग्मती नदीको पुलमा पनि असर पर्ने भन्दै स्थानीय चिन्तित छन् ।