२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


भारतको लोकसभा विघटन


0
Shares

नयाँदिल्ली, जेठ ११ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले शनिबार तल्लो सदन अर्थात् भारतको लोकसभा विघटन गरेका छन् ।

भारतमा हालै भएको १७औं लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिकरुपमा घोषणा भएको भोलिपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरेका हुन् ।

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले ३५२ सिट हासिल गरेको छ ।

भाजपा एक्लैले भने ३०३ सिट ल्याएको छ । जुन नतिजा सन् २०१४ माभन्दा २२ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।

एनडीए गठबन्धनमा रहेका अन्य दलहरुमध्ये शिव सेनाले १८, जनता दल युनाइटेड (जेडीयु)ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई/दुई सिट तथा झारखन्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एक/एक सिट जितेका छन् ।

त्यसैगरी, भाजपाको समर्थन रहेका एकजना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय कांग्रेसले ५२ सिटमामात्रै जित हासिल गरेको छ ।

अघिल्लोपटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेस नेतृत्वको युपीए गठबन्धन कुल ८७ निर्वाचन क्षेत्रमा विजयी भएको छ । यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डीएमके)ले २३, नेसनलिस्ट कंग्रेस पार्टी (एनसीपी)ले ५, इन्डियन युनियन मुस्लिम लिगले तीन सिट जितेका छन् ।

त्यसैगरी, रिभोलुसनरी सोसलिस्ट पार्टी (आरएसपी), केरला कंग्रेस—एम (केसी—एम), झारखन्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भीसीके)ले एक/एक सिटमा जित हासिल गरेका छन् ।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक र तल्लो सदनको विघटनसँगै भारतमा फेरि नयाँ सरकार गठनको चरण सुरु हुन लागेको छ । रासस/एएनआई