२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


कागतीको विरुवा उत्पादन र खेतीबाट मालामाल


0
Shares

-नवीनराज कुइँकेल/ईमेज

लमजुङ । देशमा आयआर्जनका गतिला स्रोत नभेटेर वा नदेखेर बेरोजगार बनेकाहरुको पंक्ति निकै लामो भइसकेको छ ।

तर वरिपरीका सम्भावनालाई पहिचान गरी मेहनत गर्नेहरुले भने स्वदेशमै लोभलाग्दो सफलता हात पारेका छन् ।

तिनैमध्येका एक हुन् लमजुङ सुन्दरबजारका गोवद्र्धन गौलीको दम्पती ।

गाउँमै फर्केर कृषि व्यवसाय अँगालेका उनीहरुले मासिक लाखौँ आम्दानी मात्र गरेका छैनन् धेरैजनालाई रोजगारी समेत दिएका छन् ।

२५ वर्षअघि बसाइँसराई गरी चितवन पुगेका सुन्दरबजार नगरपालिका–१ कुन्छाका ५५ वर्षीय गोवद्र्धन गौली र तारा भट्टराईको दम्पत्ति केही वर्षदेखि गाउँमै फर्केर कागतीको विरुवा उत्पादन र खेतीमा लागेका छन् ।

१५ रोपनी क्षेत्रफलमा गरिएको नर्सरीमा डेढ लाख कागतीका विरुवा हुर्काइएको छ ।

आफ्नो पुर्खयौली २ सय र भाडामा २ सय गरि ४ सय रोपनी जग्गामा फार्म सञ्चालन गरिएको छ ।

डेढसय रोपनी जग्गामा कागती, सुन्तला, अदुवा, कफी लगाइएको छ त्यसैगरी परीक्षणका लागि स्याउका विरुवासमेत रोपेका छन् ।

२०७१ सालबाट सुरु गरिएको फार्ममा हाल ५ सय बोट सुन्तला, ४ हजार पाँचसय कागतीका बोट हुर्किएका छन् । लगाइएका ७० प्रतिशत बोटमा फल फल्न थालेको छ ।

भोजपुर, धनकुटा,लगायतका जिल्लाबाट २० क्विन्टल कागती ल्याएर विरुवा उत्पादन गरिएको नर्सरी नेपालकै सबैभन्दा ठूलो भएको दाबी उनीहरुको छ ।

कागतीका बिरुवा बिक्रीबाट गतबर्ष १२ लाख रुपियाँ आम्दानी गरेको र यो वर्ष  ४० लाख रुपियाँ आम्दानी हुने उनीहरुको अनुमान छ ।

कागती, सुन्तला र कफि खेतीसँगै भैंसी र बाख्रापालन पनि गरेका छन् ।

फर्म दर्ता गरेर व्यावसायिक रुपमै कृषिमा लागेका उनीहरुले सहयोग गर्न अष्ट्रेलिया पुगेका छोरीज्वाइँलाई पनि फिर्ता बोलाएका छन् ।

पाँच करोड रुपियाँ लगानी गरिएको उक्त फर्ममा १६ जनाले रोजगारी पाएका छन् । उनीहरुको यो सफलताले स्वदेशमै केही गर्न चाहनेहरुलाई पनि प्रेरणा दिएको छ ।