२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वाणेश्वर मन्दिरमा कुषाणकालीन इँटा ! (भिडियो)


39
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, असार १२ । काठमाडौंको मध्यबानेश्वरमा रहेको वाणेश्वर महादेव मन्दिरको जिर्णोद्धार गर्नेक्रममा पुरातात्विक र ऐतिहासिक महत्वका इँटा भेटिएको छ ।

मन्दिरको जमिनमा विभिन्न तीन आकारका करिब आधा दर्जन इँटाहरु भेटिएको हो । भेटिएका तीनवटा इँटा कुषाणकालीन हुनसक्ने जनाइएको छ ।

यस स्थानमा फेलापरेका इँटाहरु साढे चौध इन्च लम्बाइ र साढे आठ इन्च चौडाइ तथा साढे चार इन्च मोटाइका रहेका छन् । यी इँटाहरु तिलौराकोटमा पाइएका इँटाजस्तै छन् ।

मध्यबानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयको प्रांगणमा रहेको यस मन्दिरसँगै पुरातात्विक महत्वका इँटा भेटिएपछि पुरातत्व विभागले आगामी साउनमा थप उत्खनन् र अध्ययन गर्ने भएको छ ।

इँटाहरु गुप्तकालीन र कुषाणकालीन इँटाको आकारसँग मिल्दो–जुल्दोखालको भएको विभागले जनाएको छ ।

तिलौराकोटको इँटाको समय र अहिले भेटिएका इँटाको युग फरक पनि हुनसक्ने भन्दै इतिहासविद् भरत जंगमले वाणेश्वर मन्दिर श्रीनिवास मल्लको समयमा बनेको जानकारी दिनुभयो ।

राजा भूमि वर्माको समयमा यो क्षेत्र राजधानी रहेको वंशावलीहरुमा उल्लेख रहेको भन्दै स्थानीय बुद्धिजीवी मुकुन्दराज सत्यालले थप उत्खनन् गरिए प्राचीन सभ्यता पत्ता लाग्ने बताउनुहुन्छ ।

यही वाणेश्वर मन्दिरको नामबाट नै यो क्षेत्रको नाम बानेश्वर रहन गएको हो ।

मन्दिरमा पाँचवटा जलकुण्ड रहेकोमा अहिले एउटा प्राचीन कुण्डसमेत भेटिएको छ । कुण्डमा मन्दिरको पुरानो गजुरसमेत फेलापरेको छ ।

बयोवृद्ध दामोदरप्रसाद लामिछानेले नेपालका मौलिक कला, संस्कृति र परम्परालाई जगेर्ना गनुपर्ने बताउनुहुन्छ ।

यस क्षेत्रमा विस्तृत उत्खनन्, अध्ययन–अनुसन्धानको आवश्यकता देखिएको छ । ताकी यस क्षेत्रमा हराएको प्राचीन सभ्यताको उजागर होस् ।

भिडियो हेर्नुहोस्