२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


‘भिजिट नेपाल २०२०’ सफल बनाउन पूर्वाधार विकासमा जोड


0
Shares

काठमाडौं, जेठ १० । ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउन नेपालको वातावरणीय तथा पर्यावरणीय क्षेत्रमा विभिन्न समस्याहरु भइरहेकाले ती क्षेत्रहरुको सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

भिजिट नेपाल २०२० को संयोजक समितिले शुक्रबार गरेको छलफल कार्यक्रममा सहभागीहरुले २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्नका लागि विमानस्थल सुधार, सडक सुरक्षा तथा वातावरणीय र पर्यावरणको क्षेत्रमा सुधार गर्न आवश्यक भएकोमा जोड दिएका हुन् ।

भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यले पर्यटकहरुको आकर्षक गन्तव्यकारुपमा विकास गर्नका लागि बुटिक एअरपोर्टको अवधारणा अगाडि बढाइएको, ‘लोन्ली प्लानेट’सँग पनि सहकार्य गरेर काम गरिरहेको बताए ।

नयाँ गन्तव्य, नयाँ लगानी तथा रोजगारीमा पनि वृद्धि गर्नेगरी भिजिट नेपाल २०२० मनाउन लागिएको वैद्यले बताए ।

पर्यटन क्षेत्रको विकास गर्नका लागि ‘टुरिजम एक्सिलेन्स अवार्ड’ तथा ‘टुरिजम समिट’ गर्नसकेमा अझै नयाँपन थपिने र अभियानलाई सघाउन पुग्ने पनि उनले उल्लेख गरे ।

उद्योगी वसन्त चौधरीले वातावरणीय प्रदूषण बढ्दा पर्यटकहरुबाट नराम्रो सन्देश फैलनसक्नेतर्फ सचेत हुनुपर्ने उल्लेख गरे ।

नेपालका विद्यमान सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरु नै पर्यटकका प्रमुख आकर्षण केन्द्र भएको र यिनैका कारणले नेपाल महत्वपूर्ण गन्तव्य बन्नसक्ने भएकाले यस्ता क्षेत्रहरुको प्रवद्र्धनका लागि सहभागीहरुले जोड दिएका थिए ।