
गृष्मा राजभण्डारी, सन्दीप पौड्याल र भरत केसी (इमेज)
काठमाडौं, जेठ १० । बालगृहमा बालबालिकामाथि हुने चरण शोषण र लापरबाहीका घटना सार्वजनिक हुन थालेपछि सरकार र संसदीय समितिले चासो देखाउन थालेका छन् ।
बालगृहको दुरावस्था र बालबालिकाले खेप्नुपरेको पीडालाई बेवास्ता गर्दै आएको सरकारले अहिले भने तदारुकता देखाएको छ ।
यही जेठ १ गते काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहबाट १२५ बालबालिकाको दयनीय अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
राम्रोसँग खान–लाउन पनि नपाएका, शरीरभरि खटिरा आएका बालबालिका उद्धारको घटनालाई इमेज च्यानलले आफ्नो समाचारमा प्राथमिकताका साथ प्रसारण गरेपछि त्यसले धेरैको ध्यानमात्र खिचेन, बालगृहको नाममा बालबालिकामाथि भइरहेको ज्यादती पनि उजागर गर्न सफल भयो ।
त्यसपछिका दिनमा बालबालिकाको अवस्थाबारे इमेज समाचारमा निरन्तर ‘फलोअप’ भइनै रह्यो ।
ऐश्वर्य बालगृहको घटनालाई इमेज समाचारले सार्वजनिक गरेसँगै अहिले सरकार र संसदीय समितिले पनि त्यस मामिलामा चासो राखेका छन् ।
संसदको महिला तथा सामाजिक समितिले शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित समाजकल्याण परिषद् र बालकल्याण समितिका पदाधिकारीहरुसँग बालगृहहरुको अवस्थाबारे सोधपुछ गरेको छ ।
छलफलमा सहभागी सांसदहरुले बालगृह सन्चालनको नाममा बालबालिकामाथि चरम शोषण हुँदा पनि वास्ता नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
गलत नियत राखेर बालगृह सन्चालन गरेकाहरुलाई सरकारले तत्काल कानुनी दायरामा ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
जवाफमा मन्त्री थापाले बालगृहका देखिएका विकृतिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जवाफ दिइन् ।
नियमित अनुगमन र नियमन गर्ने शाखा नभएका कारण यस्ता विकृति रोक्न गाह्रो भएको उनको तर्क थियो ।
मन्त्री थापाले ऐश्वर्य बालगृहबाट उद्धार गरिएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन निर्देशन दिएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्