
-प्रकाश नेपाल/ईमेज
इलाम । इलामको माई नगरपालिका–१ पालटारका मानसिक समस्या देखिएका १५ वर्षीय युवा मोहनप्रसाद गिरी १० वर्षदेखि अँध्यारो कोठामा थुनिएका छन् ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि उनको परिवारले पशु जस्तै गरी एउटा कोठामा थुनेर राखेको हो । उनको परिवार आर्थिक सहयोगको याचना गरिरहेको छ ।
सदरमुकामबाट करिब ४० किलोमिटरको दुरीमा रहेको माई नगरपालिका–१ पालटारको एउटा घरमा पुग्दा हृदयविदारक दृश्य देखियो ।
१५ वर्षीय मोहनप्रसाद गिरी बन्द कोठाबाट सहयोग मागिरहेका छन् ।
मानसकि रोगले ग्रसित गिरी सानैदेखि कपडा फुकालेर गाउँघर बरालिन थालेपछि बाध्य भएर परिवारले थुनेर राखेको छ ।
कपडा लगाइदिए उनले तुरुन्तै च्यातेर फुकाल्छन् र उनलाई खानेकुरा समेत परिवारले खुवाइदिनुपर्छ ।
बस्ने ठाउँमै मलमुत्र त्याग गर्नु र चिसो भुइँमा बस्नु उनको दैनिकी बनेको छ ।
बालकका बाबु उमाराम गिरी दैनिकी चलाउन मेलापात धाउँछन् । सधैँ कोठामा थुनेर राख्दा अरु समस्या पनि थपिन थालेपछि बाबु उमाराम निकै चिन्तित छन् ।
उमारामका अनुसार ४ वर्षदेखि नै मोहनमा असामान्य व्यवहार देखिन थालेको थियो । उपचार नगरेकाले अहिले उनको शरीरको एउटा पाटो चल्न छाडेको छ ।
छोराको उपचारका लागि नगरपालिकालाई हारगुहार गरे पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।
परिवारको दैनिक गुजाराका लागि मेलापात र बनिबुतो बाहेक कुनै विकल्प छैन ।
विहान बेलुका छाक टार्न पनि समस्या भएपछि मोहनप्रसादकी आमा विगत ३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा जोर्डनमा छिन् ।
परिवारको जेठा छोराको दयनीय अवस्था देखेर उमाराम बेलाबेलामा भक्कानिने गर्दछन् ।
छिमेकीहरु समेत मोहनप्रसादको दयनीय स्थिती देखेर चिन्तित छिन् । उनको उपचारका लागि एकपटक सबैले सहयोग गर्नुपर्ने छिमकी रामबहादुर मगरको भनाइ छ ।
छोराको स्याहारसुसारका लागि बावु मुमाराम अहोरात्र खटिरहेका छन् ।
आर्थिक अभावकै कारण उपचार सम्भव हुने रोगको पनि उपचार नपाउनु सबैका लागि दुःखको कुरा हो ।
उनको उपचारका लागि सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिए उनले नयाँ जीवन पाउने थिए कि ?
प्रतिक्रिया दिनुहोस्