
काठमाडौं, जेठ ९ । एकल विन्दु सेवा केन्द्र स्थापना भएपछिमात्रै ४३ अर्ब ८९ करोड रुपैयाँ बराबरका २० ओटा उद्योग दर्ता भएका छन् ।
उद्योग दर्ता भएकामध्ये सबैभन्दा धेरै ऊर्जा क्षेत्रमा ४३ अर्ब ३० करोड लगानी आएको केन्द्रका निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए ।
यस्तै, पर्यटनमूलक उद्योगतर्फ ८ करोड १२ लाख र उत्पादनमूलक उद्योगमा ९२ लाख बराबरका उद्योग दर्ता भएको केन्द्रले जनाएको छ ।
उद्योग दर्तादेखि सहजीकरण तथा खारेजीसम्मको व्यवस्था एकै ठाउँबाट हुने भएपछि लगानीकर्तालाई सहज भएको उद्योग विभागले जनाएको छ ।
केन्द्रमा उद्योग दर्ता, कम्पनी रजिष्ट्रार, वातावरण प्रभाव मूल्यांकन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, विदेशी व्यवसायीलाई भिसा प्रक्रिया, पूर्वाधार, भन्सार नीति, राष्ट्र बैंक, जग्गा प्राप्तीलगायतका ९ ओटा इकाइहरु रहेका छन् ।
उद्योग विभागअन्तर्गत् नै स्थापना भएको एकल सेवा विन्दु केन्द्रबाट औद्योगिक व्यवसाय ऐनअन्तर्गत् पाउने सहुलियत तथा सुविधा पाउनसक्ने छन् भने जल तथा ऊर्जा पूर्वाधारको पनि सेवा प्राप्त गर्नसक्ने केन्द्रले जनाएको छ ।
एकल विन्दु सेवा केन्द्र सन्चालनमा आएपछि लगानीकर्तालाई प्रोत्साहन मिलेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले बताए ।
यही जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र सन्चालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्