२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर


0
Shares

कुनमिङ, जेठ ९ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।

विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ । 

यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ ।

अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ । स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई स्वास्थ्य समेतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

सुख्खासँग जुध्न प्रान्तीय सरकारले १७६ वटा पानी ट्यांकर पठाएको छ । यी ट्यांकरको पानी खेतीबालीका लागि प्रयोग गरिने सरकारले जनाएको छ । 

खानेपानीको अभाव समेत झेलिरहेका करिब ३० हजार मानिसका लागि यी ट्याँकरबाट पछिल्लो समय झण्डै पाँच हजार ६४३ टन पानी वितरण गरिएको छ । (रासस/सिन्ह्वा)