
सागर महर्जन (ईमेज)
काठमाडौं, असार ७ । जुन २१ तारिख अर्थात विश्व संगीत दिवस ।
सन् १९८२ मा फ्रान्सका तत्कालीन संस्कृति मन्त्री ज्याक लोले यसको शुरुवात गराएका थिए ।
नेपालमा भने २०५४ देखि यसको औपचारिक शुरुवात भएको पाइन्छ ।
संगीत दिवसका दिन विश्वभर नै विभिन्न कार्यक्रमहरु हुने गरे पनि यस वर्ष कोरोना महामारीका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएन ।
संगीतको कुनै भाषा र सीमा हुंदैन । मानव जीवनमा संगीतको महत्व वेग्लै छ ।
संगीतको क्षेत्र पनि विशाल र व्यापक छ । तर यस्तो क्षेत्र अहिले कोरोना महामारीको मारमा परेको छ ।
लकडाउन अलि खुकुलो भए पनि संगीतकर्ममा लाग्नेहरु समस्यामै छन् ।
कुनै पनि सांगीतिक कार्यक्रम भएका छ्रैनन । कलाकारको आम्दानीको राम्रो श्रोत बनेको स्टेज कार्यक्रमहरु पूरै रोकिएका छन् ।
गायक हेमन्त शर्मा संगीतकर्मीको आम्दानीको मुख्य श्रोत स्टेज कार्यक्रमनै भएकाले अहिलेको अवस्थामा राज्यले वैकल्पिक व्यवस्थाबारे सोच्नु पर्ने बताए ।
कोरोनाले संगीतकर्मीलाई श्रृजना तथा वैकल्पिक प्रस्तुतिको लागि बाधा नदिए पनि आम्दानीमा भने असर गरेको भन्दै कलाकारहरुले कोरोना पछि पनि संगीतमा लगानी गर्न र त्यसबाट आम्दानी गर्न समय लाग्ने बताउछन् ।
राज्यबाट कला क्षेत्रलाई जोगाई राख्न केही ठोस कदम चाल्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।
नेपालमा व्यवसायिक रुपमा सागीतिक क्षेत्रको विकास हुँदै गर्दा महामारीले यस क्षेत्रलाई अस्तव्यस्त बनाएको छ ।
यस्तो अवस्थामा मनोरञ्जन क्षेत्रका लागि सरकारले उचित व्यवस्था गर्नु आवश्यक छ भने कलाकारहरुले पनि परिस्थिति अनुकुल आफुलाई प्रस्तुत गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्