२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सगरमाथाको उचाई नाप्न गएको टोली शिखरमा पुग्यो


0
Shares

काठमाडौं, जेठ ८ । सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुगेको छ ।

विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली आज बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो । टोलीका सदस्य रविन कार्कीसहित क्लाईम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको छ ।

टोली शिखरबाट फर्केर साउथकोल आइसकेको छ । सो टोली भोलिसम्म आधार शिविर आईपुग्ने आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोसन प्रालिले जनाएको छ । 

शिखरमा जीपीएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण बिन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको छ । टोलीकै दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल भने आधार शिविरमा बसेर सहयोग गरिरहेका छन् ।

शिखरमा पुग्ने बित्तिकै उचाई पत्ता नलाग्ने नापी विभागले जनाएको छ । अब जीपीएसमा सेट भएका तथ्यांकका आधारमा संसारका दर्जनौं वैज्ञानिकले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरी उचाई टुंगो लगाएर पुष्टि गर्नेछन् । त्यसका लागि कम्तीमा अझै ६ महिना लाग्ने बताइएको छ । 

नापी विभागअन्तर्गत सगरमाथाको उचाई नाप्नका लागि प्रमुख काममध्ये शिखरमा पुग्नुपर्ने चुनौती थियो ।

यसअघि सन् १८५६ मा ब्रिटिस सर्वेयर जर्ज एभरेस्टले सर्वे गरी विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए । त्यसअघि भारतीय सर्वेयर राधानाध सिख्धरले १८५२ मै सगरमाथा सर्वोच्च शिखर भएको दाबी गरेका थिए । चीनले समेत यसअघि पटक–पटक सगरमाथाको उचाई नाप्ने काम गरेको छ ।