सैनिक पोसाकमा राजकुमार ह्यारी, अफगानमा मारिएका गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण • Image Khabar Image Khabar


सैनिक पोसाकमा राजकुमार ह्यारी, अफगानमा मारिएका गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण


Imagekhabar
९ चैत्र २०७२, मंगलवार ०९:५९

सैनिक पोसाकमा राजकुमार ह्यारी, अफगानमा मारिएका गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण

पोखरा, चैत ९ । बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ पोखरा, लामाचौरस्थित गोर्खा ब्रिटिस क्याम्प पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

अफगानिस्तानमा ११ गोर्खा सैनिकले वीरगति प्राप्त गरेका थिए । वीरगति प्राप्त गर्नेमा युवराज राई, कृष्णप्रसाद दुरा, कुमार पुन, अर्जुन पुन, रेमन्द खुलुङ, ईश्वर गुरुङ, सुरज गुरुङ, सुरज लिम्बू, सचिन लिम्बू, गजेन्द्र गुरुङ र सिद्धार्थ गुरुङ थिए ।

वीरगति प्राप्त गरेका गोर्खासेनाको सम्झनामा दुई मिनेट मौनधारणसमेत गरिएको थियो ।

बेलायती सैनिक पोसाकमा राजकुमार ह्यारीले सो समारोहमा भाग लिएका थिए ।

वीरगति प्राप्त गर्ने गोर्खासैनिकको आत्माको चिर शान्तिको कामना गर्दै हिन्दू र बौद्ध परम्पराअनुसार शान्तिपाठ गरिएको थियो ।

सोही अवसरमा ह्यारीले अफगानिस्तान युद्धमा मारिएका गोर्खासैनिकका आफन्तजन र परिवारजनसँग भलाकुसारी गर्दै समवेदना व्यक्त गरेका थिए ।

सो कार्यक्रममा नेपालका लागि बेलयाती राजदूत रिचर्ड मरिस र बेलायती गोर्खा सैनिकसहितको उपस्थिति थियो ।

राजकुमार ह्यारीले वरको वृक्षारोपण पनि गरे । उनी मंगलबारै बेलायती गोर्खाको कार्यक्रममा सहभागी भइ काठमाडौँ फर्कने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्