कम उमेरमै विवाह नेपाली बालिका र महिलाको प्रमुख चुनौती : राजकुमार ह्यारी • Image Khabar Image Khabar


कम उमेरमै विवाह नेपाली बालिका र महिलाको प्रमुख चुनौती : राजकुमार ह्यारी


Imagekhabar
१० चैत्र २०७२, बुधबार ०८:३४

कम उमेरमै विवाह नेपाली बालिका र महिलाको प्रमुख चुनौती : राजकुमार ह्यारी

काठमाडौं, चैत १० । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेविड ह्यारीले संसारका धेरै राष्ट्रले अझैपनि पुरुषलाईझैं महिला तथा बालिकाका लागि अवसरहरु प्रदान गर्न नसकेको बताएका छन् ।

नेपाल बालिका सम्मेलनको बुधबार राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उद्घाटन गर्दै बेलायती राजकुमार ह्यारीले बालिका र महिला पछाडि परेकोमा चिन्ता व्यक्त गरे ।

नेपालमा राष्ट्रपति र सभामुख महिला भएको उदाहरण दिँदै राजकुमार ह्यारीले नेपालमा महिला नेतृत्वको विकास हुँदै गएको बताए ।

राजकुमार ह्यारीले कम उमेरमा गरिने विवाह नेपाली बालिका तथा महिलाको प्रमुख चुनौती भएको बताए ।

उनले नेपालको आधाभन्दा बढी महिलाको विवाह १८ वर्षअघि नै हुने गरेको र किशोरी अवस्थामै आमा बन्ने गरेको तथ्यांक प्रस्तुत गर्दै यसले महिलाको समग्र विकासमा बाधा पुगेको बताए ।

कार्यक्रममा उप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले नेपालमा बालविवाह रोक्ने कानुन बनिसकेको भएपनि प्रभावकारी कार्यान्वयन हुन ननसकेको स्वीकार गरे ।

उनले सन् २०१४ मा सम्पन्न पहिलो बालिका सम्मेलनमा नेपालले गरेको प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘समृद्ध बालिका, समृद्ध नेपाल’ भन्ने नाराकासाथ भइरहेको सम्मेलनमा बालविवाह धेरै हुने १५ जिल्ला मोरङ, सप्तरी, उदयपुर, मकवानपुर, रौतहट, कपिलवस्तु, रुपन्देही, नवलपरासी, कालीकोट, बाँके, दैलेख, सुर्खेत, बझाङ, बैतडी र डोटीका ६१ बालिका सहभागी छन् ।

यस्तै, समुदायका अगुवा, धार्मिक गुरु तथा अगुवा, सरकारी र अन्तर्राष्ट्रिय व्यक्तित्व र लैंगिक समानताका लागि क्रियाशील अधिकारकर्मी पनि सम्मेलनमा सहभागी छन् ।

नेपालले सन् २०१४ मा लन्डनमा भएको पहिलो किशोरी सम्मेलनमा बालविवाह र जबर्जस्ती हुने विवाहको अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो ।

संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि २०३० सम्म बालविवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रसंघकाअनुसार विश्वमा ७० लाखभन्दा धेरैको २० वर्ष नपुग्दै विवाह हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्