
काठमाडौं, चैत १० । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्व. गणेशमान सिंहको आत्मकथा ‘मेरो कथाका पानाहरु’ नामक पुस्तक बुधबार सार्वजनिक गरिएको छ ।
गणेशमान सिंह फाउन्डेसनले स्व. सिंहको जन्मशताब्दीको अवसर पारेर आत्मकथा प्रकाशित गरेको हो ।
राजधानीमा बुधबार भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहको आत्मकथाको अंग्रेजी संस्करण भाग १ र २ तथा नेपाली संस्करण भाग ३ को विमोचन गरे ।
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले सम्पादन गरेको सो पुस्तकको अंग्रेजीमा अनुवाद भने लालदेउसा राईले गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै देउवाले स्व. सिंहले देशमा लोकतन्त्र स्थापनाका लागि अतुलनीय योगदान पुर्याएको बताए ।
यस्तै, सिंहका पुत्र एवं कांग्रेस नेता प्रकाशमान सिंहले निष्ठाको राजनीति बुझ्न र सिक्नका लागि आत्मकथा महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा भारतीय राजदूत रणजित रायले सिंहले नेपाली स्वतन्त्रताका लागिमात्र नभइ भारतको स्वतन्त्रता र राजनीतिक परिवर्तनका लागिसमेत महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे ।
भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्याय, पत्रकार अजयभद्र खनाललगायतले नेपाली स्वतन्त्रता आन्दोलनमा सर्वमान्य नेता सिंहले गरेको योगदानको चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्