९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


नयाँवर्ष २०७३ सालका लागि १३ पात्रोलाई सरकारी स्वीकृति


0
Shares

काठमाडौं, चैत ११ । नेपाल पञ्चांग निर्णायक समितिले नववर्ष वि.सं २०७३ का लागि १३ ओटा पात्रो (पञ्चांग) लाई स्वीकृति दिएको छ ।

नयाँवर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत्को नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएका पञ्चांगमा तोयनाथको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ पात्रो (पञ्चांग) रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

‘समितिको निर्णयअघि नै केही व्यक्तिले व्यक्तिगत्रुपमा शास्त्रीय मान्यता विपरीत पात्रो (पञ्चांग) निकालेर भ्रम सिर्जना गरेका छन्, यसको जानकारी गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई गराइएको छ’–अध्यक्ष गौतमले भने ।

समितिको स्वीकृति नलिइ निस्किएका पात्रोमा सम्बत्सरको नाम, वृहस्पति एवं शुक्रको उदय र अस्त, व्रतबन्ध र विवाहको साइतलगायत तिथि, मिति तथा चाडबाडमा फरकपरेको समितिले जनाएको छ ।

समितिको स्वीकृतिअघि निकालिएका पात्रोले जनता भ्रममा पर्न थालेको गुनासो आउन थालेको सदस्य–सचिव सूर्यप्रसाद ढुंगलले बताए ।

‘समितिको स्वीकृतिबिना निस्किएका पात्रोका कारण चाडबाड एवं तिथिमितिमा फरकपरेमा हामी जिम्मेवार हुने छैनौं, यसैले सरकारको आधिकारिक निकायले शास्त्रीय आधारमा निर्णय गरेको पात्रो प्रयोग गरी भ्रमबाट मुक्त हुन अनुरोध गर्छौं–उनले भने ।

समितिको स्वीकृतिबिना निस्किएका पात्रोले सरकारले सार्वजनिक बिदाको घोषणा गर्नुअघि नै रातो लगाइ भित्तेपात्रो (क्यालेन्डर) निकालेरसमेत भ्रममा राखेको व्यहोरासहितको पत्र गृह र संस्कृति मन्त्रालयमा कारबाहीका लागि पठाइएको छ ।

पात्रोलाई समितिले स्वीकृति दिएको मितिसम्म गृह मन्त्रालयले सार्वजनिक बिदाको निर्णय नगरेकाले बिदा जानकारी राख्न नसकिएको समितिको भनाइ छ ।

पात्रोअनुसार नै सांस्कृतिक एवं धार्मिक चाडपर्व मनाउने गरिन्छ । रासस