
इमेज जिल्ला ब्यूरो
काठमाडौं, चैत १८ । विहीबारदेखि सुरु भएको एसएलसी परीक्षाको पहिलो दिन राजधानीसहित देशैभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ ।
विगत वर्षहरुमाभन्दा यस वर्ष तोकिएका प्रायः परीक्षा केन्द्रहरु पहिलो दिन व्यवस्थित देखिएका थिए ।
रौतहटमा ४ जना निरीक्षकलाई निलम्बन
रौतहटमा भने अमर्यादित काम गरेको भन्दै चारजना निरीक्षकलाई निलम्बन गरिएको छ ।
सिमरा भवानीपुर उच्च माध्यामिक विद्यालय परीक्षा केन्द्रमा गार्ड बसेका चोचा प्राथमिक विद्यालयका शिक्षक ईन्द्र चौधरी, जमुनिया विद्यालयका राम दयाल साह र नेमधारी बासुदेव उच्च माध्यामिक विद्यालयका दुईजना निरीक्षकहरु परीक्षा अवधिभर गार्ड बस्न नपाउने गरी निलम्बनमा परेका हुन् ।
महोत्तरीमा ८ बोरा चिट बरामद
यस्तै, महोत्तरीस्थित राम उच्च माध्यामिक विद्यालय मटिहानीबाट एकजना निरीक्षकलाई निश्कासन गरिएको छ ।
यस्तै, परीक्षाको नियमविपरीत हो–हल्ला गरी चिट चोराउने र प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा श्री जनता माध्यामिक विद्यालय धमौरा परीक्षा केन्द्रबाट वीरेन्द्रकुमार यादवलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट विहीबार आठ बोराभन्दा बढी चिट बरामद गरिएको छ ।
सप्तरीमा दुई निरीक्षकलाई कारबाही
सप्तरीमा परीक्षामा मर्यादाविपरीत कार्य गरेको आरोपमा दुई निरीक्षकलाई कारबाही गरिएको छ ।
राम दयाल उच्च माध्यामिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक रामबाबु यादव र रोहित साहले परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
पहिलो दिन सप्तरीमा नियमिततर्फ २ सय ९१ तथा एक्जाम्टेडतर्फ ९९ गरी कुल ३ सय ९० जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
डडेल्धरा, पोखरामा शान्तिपूर्ण
डडेल्धुरामा भने शान्तिपूर्वक तरिकाले पहिलो दिनको परीक्षा सम्पन्न भएको छ ।
कास्कीमा पनि शान्तिपूर्णरुपमा परीक्षा सम्पन्न भएको छ ।
बिहान ८ बजेदेखि भएको परीक्षाको पहिलो दिन विहीबार विद्यार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिएका हुन् । देशभरबाट ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी परीक्षामा सहभागी भए ।
जसमध्ये नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ जना परीक्षार्थी रहेका छन् ।
नियमिततर्फ २ लाख २५ हजार २ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् । प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन् ।
परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ र सबैभन्दा कम मनाङबाट ६३ जना सहभागी भएका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्