Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


नक्कली प्रहरी बनेर यसरी गरियो ठगी, चारजना पक्राउ


0
Shares

काठमाडौं, चैत २२ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छापामारी ‘मुद्दा मिलाइदिन्छु’ भन्दै नक्कली प्रहरी बनी ठगी गर्ने चारजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

कलंकी, बानेश्वर, सामाखुसी, ठमेललगायतका स्थानमा मदिरा, खाद्य पसलमा प्रहरी बनी छापा मार्ने अनि मुद्दा मिलाइदिन्छु भन्दै रकम असुल गर्ने गुल्मी गुवादी–८ का दीपक भन्ने टोपबहादुर कुँवर, काभ्रे, चौंरी–३ का गोविन्द चौलागाइँ, प्यूठान, बिजुली–९ का निमबहादुर कुँवर र मोरङ, विराटनगर–६ का सुनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट १४ थान ‘ब्याकलेभल’ मदिरा तथा भारतीय रुपैयाँ १६ हजार ५०० र नेपाली रुपैयाँ ६० हजारसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले छापामारेका पसलका साहुलाई बारम्बार फोन गरी मुद्दा मिलाइदिन्छु भन्दै थप रकम माग्ने गरेकोसमेत पत्ता लागेको छ ।

बैंकिङ कसुरमा फरार अभियुक्र पक्राउ
महानगरीय अपराध महाशाखाले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट रु नौ करोड कर्जा लिएर ठगी गरेका काठमाडौं गागलफेदीका ४७ वर्षीय पुष्करराज खड्कालाई पक्राउ गरेको छ ।

खड्काले पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी रकम अपचलन एवं बैंकिङ कसुर गरेका हुन् ।

महाशाखाका अनुसार पुनरावेदन अदालत, पाटन ललितपुरबाट २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई तीन वर्ष कैद र नौ करोड बिगो भराइ जरिवाना तोकेको थियो ।

प्रहरीले खड्कालाई बौद्धस्थित बाहुनधाराबाट आइतबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सोमबार काठमाडौं जिल्ला अदालत पठाइएको छ । रासस