
काठमाडौं, जेठ ५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीन महिनाको अवधिमा ५६ करोड बक्यौता रकम उठाएको जनाएको छ ।
विमानस्थलले विभिन्न हवाई सेवा प्रदायक कम्पनीबाट अझै एक अर्ब ९५ करोड रुपैयाँ उठाउन बाँकी छ ।
आइतबार प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले ५६ करोड बक्यौता रकम उठाएको बताएका हुन् ।
पुस मसान्तसम्म दुई अर्ब ५१ करोड बक्यौता रकम उठाउन बाँकी थियो ।
विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ५४ करोड रुपैयाँ बक्यौता तिर्नुपर्नेछ ।
यो बक्यौता अर्थमन्त्रीस्तरीय निर्णयले मिनाहा गरेको भएपनि नागरिक उड्डयन प्राधिकरणले भने मन्त्रीस्तरीय निर्णयले नहुने भन्दै मिनाहा गर्नुपर्ने भए मन्त्रिपरिषद् बैठकबाट हुनुपर्ने जनाएको छ ।
बैठकमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले मन्त्रिस्तरीय निर्णयलाई मान्न नसकिने बताए ।
यस्तै, मलेसियाको हवाई सेवा प्रदायक कम्पनी एअर एसियाले १८ करोड रुपैयाँ तिनुपर्नेछ ।
नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स, एअर इन्डियासहित स्वदेशी एवं विदेशी विमान कम्पनीले बक्यौता रकम तिर्न बाँकी छ । बाँकी बक्यौता रकम उठाउन लागिपरेको प्राधिकरणले जनाएको छ ।
महानिर्देशक गौतमले एअर एसियाको बक्यौता रकम उठाउन मलेसिया दूतावास, ‘आइटा’लगायतमार्फत् पहल गरिने बताए ।
सांसदहरुले विमानस्थल कार्यालयमा रहेका पसलहरुलाई व्यवस्थित गर्न र उनीहरुबाटसमेत उठाउनुपर्ने बक्यौता रकम छिटो उठाउन सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्