
सर्लाही, जेठ ५ । सर्लाहीको दक्षिणी भेगका किसानले उखुको भुक्तानी उपलब्ध गराउन माग गर्दै आइतबारदेखि सदरमुकाम मलंगवामा रिले सुरु गरेका छन् ।
उखु बेचेको भुक्तानी लामो समयदेखि नपाएको भन्दै उनीहरु सहिदचोकमा अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् ।
उखु किसानसँगै बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंह र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री राकेश मिश्रसमेत अनशनमा बसेका छन् ।
राजपाका सहमहामन्त्री मिश्रकै नेतृत्वमा किसानले गएको वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालय मलंगवामा ज्ञापनपत्र बुझाउँदै ७२ घन्टाभित्र भुक्तानी उपलब्ध गराउन माग गरेका थिए ।
तर, भुक्तानी दिलाउन पहल नभएपछि रिले अनशन सुरु गरिएको उखु किसान संघर्ष समिति क्षेत्र नम्बर–४ का अध्यक्ष रामसोगारथ राय यादवले बताए ।
जिल्लाको दक्षिणी भेगस्थित अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदह यस वर्षको उखु क्रसिङ सकेर बन्द भइसकेका छन् ।
यी दुवै उद्योगले किसानलाई एक पैसा दिएका छैनन् । अन्नपूर्णले तीन वर्षदेखिको भुक्तानी नदिएको किसानहरुको भनाइ छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उखु किसानको भुक्तानी दिलाउन पहल गरिरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्