
काठमाडौं, जेठ ५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाबाट साना तथा तीनपांग्रे सार्वजनिक सवारी–साधन पूर्णरुपमा हटाइने जनाएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाबाट तीनपांग्रे साना सार्वजनिक सवारी–साधन हटाइने बताएका हुन् ।
उनले यातायात व्यवस्था विभागसँगको समन्वयमा तीनपांग्रे र साना सवारी–साधन हटाउने तयारी भइरहेको जानकारी दिए ।
आगामी असारदेखि ट्राफिकले काट्ने पर्ची विद्युतीय हुने र अनलाइनबाटै भुक्तानी दिने व्यवस्था गरिने उनले बताए ।
यस्तै, मोटरसाइकलमा पछाडि बस्नेले हेलमेट लगाउने व्यवस्था लागू गर्ने पनि एसएसपी पन्तले बताए ।
उपत्यकाका ट्राफिक लाइटहरु प्रयोगमा ल्याउने, भाडाका सवारी–साधनमा ‘ड्रेसकोड’ लागू गर्ने, ‘हाइवे’मा जथाभावी पार्किङ नियन्त्रण गर्नेलगायतका योजना रहेको जानकारी पनि उनले दिए ।
उपत्यकाका विभिन्न ठाउँमा जेब्राक्रसिङ बनाउने काम चलिरहेको भन्दै उनले प्रदूषण ‘फेल’ भएका सार्वजनिक सवारी–साधनमाथिको कारबाही पनि कडाइ गरिएको एसएसपी पन्तले बताए ।
प्रतिक्रिया दिनुहोस्